महाराजगंज अस्पतालमा आँखा बिछ्याएर पर्खिरहेछ, देश

सुवास देवकोटा

काठमाडाैं

कहिले काही पहिले कुनै एक व्यक्तिको मनबाट निस्किएको भएपनि एउटा सोच लाखौं करोडौंको सामुहिक सोच बन्न पुग्छ।

त्यस्तो सोच परिस्कृत बनाएर ढालिएको योजनाले लाखौं करोडौंलाई एकोहोर्याएर हिडाउन सक्छ। मान्छेलाई चित्त बुझ्नुपर्छ, एउटा सोच, एउटा योजना र एक व्यक्तिको पछि सम्पूर्ण देश नै हिड्छ । उसलाई अप्ठ्यारो पर्दा साथ दिन्छ, उसको दु:खमा रुन्छ र उसको खुसीमा मन खोलेर झुम्छ–नाँच्छ। 

अहिले सम्पूर्ण देश त्यसैगरी काठमाडौं महाराजगंजस्थित शिक्षण अस्पतालमा आँखा बिछ्याएर पर्खिरहेको छ। प्रधानमन्त्री केपी शर्मा ओली दोश्रो पटक मिर्गाैला प्रत्यारोपण गर्न फागुन १९ गते साँझ त्यहाँ भर्ना भएका छन्, २१ गते प्रत्यारोपण हुँदैछ। भनिएअनुसार, प्रत्यारोपण गर्दा उनलाई बेहोस पारिनेछ, चिकित्सा विज्ञानको विकासको अहिलेको अवस्थामा करिव दुई घण्टा समय लाग्ने प्रत्यारोपणको यो प्रक्रिया सफल हुने ९८ प्रतिशत निश्चित रहेको त्यहाँका चिकित्सकको भनाई छ ।

याे पनि:‘मेरो शिशु डिस्चार्जमा सहयोग गर्नुस्, जिन्दगीभरि ऋणी बन्ने छु’ (भिडियाे)

तर, अपरेशन हो, हुनामी नहोस् भनेर नेपालीजन चिन्ता र आतुरतासाथ कामना गरेर बसेका छन् । ओलीले बारम्बार भने जस्तै आफ्ना मुर्छित सपना जगाएका प्रधानमन्त्री स्वस्थ्य भएर कामको मैदानमा फर्किउन् र देशको भविष्यका लागि फराकिलो बाटो निर्माण अभियान अघि बढाउन् भन्ने जनजनको अपेक्षा छ। 

राजनीतिज्ञहरु आम मानिसको आलोचनाको पहिलो निशानामा पर्ने संसारभरीकै चलन रहेकोमा ओली पनि आलोचनामुक्त थिएनन्, छैनन् । त्यसमाथि, राजनीति यसै विचार, संगठन र नेतृत्ववीच प्रतिस्पर्धाको विषय भएकाले इतर पक्षबाट आलोचना, विरोध र वाधा–व्यवधान हुनु अस्वभाविक मानिदैन।

निर्वाचनमा ओली नेतृत्वको नेकपाले आधाभन्दा केही बढी मत मात्र पाएको हो । त्यसकारण आधाभन्दा केही कम मानिस उनको आलोचक हुने नै भए। निर्वाचनमा मत दिएकामध्ये पनि सबैको अपेंक्षा पूरा नहुँदा विरोध अभिव्यक्त गर्न सक्ने भए।

याे पनि: छोराको उपचारका लागि हाड घोटिरहेकी ८० वर्षीया बृद्धा ...... (भिडियो)

अपेक्षा गर्नेहरु मुखर हुने हुँदा उनीहरुको स्वर ठूलो सुनिने गर्छ भने सन्तुष्टहरु मौन बस्न नै रुचाउँछन् । पार्टीभित्र नेतृत्वको प्रतिस्पर्धा कति चर्काे हुन्छ र त्यो कुन हदसम्म पुग्नसक्छ भन्ने नेकपा सचिवालयको गत साता भएको निर्णयले नै देखाएको छ । यी र यस्ता कारणले पछिल्लो समय ओलीको सपना, योजना र कर्ममा देशले साथ छाडेको हो कि जस्तो लाग्ने अवस्था श्रृजना भएको थियो। 

तर, नेतृत्व भनेको अनेक समुदाय, विचार र प्रवृतिलाई कुनै एउटा ‘कज’ मा साथ लिएर हिड्न सक्ने क्षमता हो । चार तिर फर्केका त्यस्ता विचार र प्रवृतिलाई सधै साथ लिएर हिड्न सम्भव नहुनेहुँदा निर्णायक बेला आफूसँग हिडाउन सक्नु नै सक्षम नेतृत्व मानिन्छ। ओलीले निर्वाचनको बेला गरेको त्यही हो । र, मिर्गाैला प्रत्यारोपण गर्न जानुअघि उनले देशवाशीका नाममा दिएको सन्देश र उनको सुस्वास्थ्यको पक्षमा देशमा देखिएको एक मतले निर्वाचनका बेला उनले पाएको नेपालीको विश्वास अझै कायम रहेको प्रमाणित भएको छ। 

कयौंमा नेपाल बन्ला र भन्ने आशंका तथा कयौंमा नेपाल बन्दैन भन्ने देशको भविष्यप्रतिको अविश्वास रहेको बेला अघिल्लो प्रधानमन्त्रीत्वकालमा ओलीले नेपाल बन्न सक्छ, बनाउनुपर्छ भन्ने सपना जगाएका थिए । आफ्नै व्यवस्थापन क्षमता र राज्यसंयन्त्रको सामर्थ्यमा रहेको कमजोरीका कारण ती सपना कार्यान्वयको तहमा कति जान सके तथा त्यसको गति कस्तो रह्यो भन्ने छलफलको विषय बन्न सक्ला।

याे पनि: डीएसपीलाई झापड हान्ने चियावाली भन्छिन्– अरु विकल्पै थिएन (भिडियो)

तर, उनका सपना र योजनाले देशको सपना जागृत गराएकोमा बिबाद छैन। संविधान निर्माणमा विदेशी हस्तक्षेपको डटेर प्रतिरोध र त्यसको प्रतिक्रियामा भारतले लगाएको अघोषित नाकाबन्दीको उस्तै दृढतासाथ सामनाले देशको सार्वभौमिकताप्रति नेपालीको आत्माविश्वास सगरमाथा पुर्याएको सबैले स्विकार्छन् ।

मुख्यरुपमा ती दुई कारणले ओलीको नेतृत्वप्रति आशा र विश्वास बढिरहेको बेला राजनीतिक जोडघटाउले उनलाई अपदस्त गरिएपछि अधिकांश नेपालीको साहनुभूति उनीप्रति जाग्नपुग्यो । कांग्रेस र माओवादीको गठवन्धनका बावजूद स्थानीय निर्वाचनमा तत्कालिन एमाले पहिलो पार्टी बन्नुको कारण त्यही थियो। संघ र प्रदेश संसदको निर्वाचनमा माओवादीसँग एमालेको गठवन्धन ठूलो बहुमत आउनुको महत्वपूर्ण कारण बन्यो तर त्यो गठवन्धन बन्नुको महत्वपूर्ण कारण र गठवन्धनले त्यत्रो प्रचण्ड बहुमत ल्याउनुको उल्लेखनीय कारण ओलीको लोकप्रियता नै थियो। 

यातना र कष्टका साथ १४ वर्ष लामो जेल जिवनले यसै थलिएको शरिर, त्यसमाथि २०६४ साउनमा भारतको नयाँ दिल्लीमा पहिलो पटक मृगौला प्रत्यारोपण गरेपछि जिर्ण बनेको ज्यान, त्यसले ल्याएका अनेक स्वास्थ्य समस्यासँग जुध्दै आएका छन्, ओली ।

याे पनि: २५ वर्षीया टेम्पोचालिका भन्छिन्- लभ गर्नलाई समय छैन (भिडियो)

राजनीतिक प्रतिकूलता होस् या शारीरिक, तीसँग जुध्दा देखिने आत्माविश्वास र दृढता, ओलीको अहिले बनेको व्यक्तित्वको प्रमुख आधार हुन् । त्यस्तो आत्माविश्वास र दृढता हुन्नथ्यो भने मन्त्री परिवर्तन गर्दा पनि दक्षिण छिमेकको सल्लाह लिने परम्परा रहेको मुलुकले न त संविधान निर्माण र नाकाबन्दीको सामनामा त्यस्तो साहास देखाउन सक्थ्यो न उसको चाहनाविपरित उत्तर छिमेकी चीनसँग दीर्घकालिन महत्वका सम्झौता गर्न सक्थ्यो ।

तर, गलत लाग्दा नसहने र त्यसमा सम्झौता नगर्ने हठ कहिलेकाहिँ प्रतिकूलता ल्याउने कारण पनि बन्ने गर्छ । ओलीले पछिल्लो समय पार्टी बाहिर र भित्र सामना गर्नुपरेको प्रतिकूलताको मुख्य कारण यही हो । जसलाई आफ्नो स्वभाव अनुसार नै उनले सामना गर्ने पक्का छ, जसको संकेत पछिल्ला केही दिन र अस्पताल भर्ना हुनुअघिको वक्तव्यमा पनि स्पष्ट देखिन्छ । 
राजनीति हो भन्न सकिन्न, देश र समाजका लागि चाहिने ठिक व्यक्ति केही समय मात्र नभएर लामो समयसम्म पछारिन सक्छ। योग्य नेतृत्व अघि आउन नसक्नेगरी घेराबन्दी निर्माण हुनसक्छ र त्यो घेराबन्दी तोड्न अभिमन्यू जसरी नै असफल हुनसक्छ । तर, कयौं लडाईमा को जित्यो र को हार्योभन्दा पनि को बहादुरीसाथ लड्यो भन्ने कुरा अर्थपूर्ण हुनेगर्छ।

ओलीले विगत कयौं वर्षदेखि राजनीति र स्वास्थ्यको लडाई बहादुरीसाथ लड्दै आएका छन् । कुनै समय वीर भनेर चिनिएका तर पछिल्लो सदी र दशकदेखि कमजोर बनाइएका नेपालीको आशा र भरोसा जगाउन सकेको उनको यही लडाकुपनले हो। 

याे पनि: सञ्चारमन्त्री बाँस्कोटाको घूस प्रकरणः सेक्युरिटी प्रेस परियोजनाको लागत साढे २३ अर्ब मात्र

शारीरिक असक्तताका कारण पर्याप्त समय दिन नसक्नु, राज्यसंयन्त्रको सामर्थ्य कमजोर हुनु तथा त्यसलाई बलियो बनाउने प्रयास पर्याप्त नहुनु, समग्र पार्टीको सहयोग प्राप्त नहुनु अथवा लिन नसकेको पनि भन्न सकिएला, सहयोगी टीमको योग्यता नपुग्नु वा नेतृत्व जस्तो दृढता र इच्छाशक्ति नहुनुको कारण ओली नेतृत्वको वर्तमान सरकारले जनताले अपेक्षा अनुसार काम गर्न सकेन होला। कयौं समय र विषयमा कमजोरी र गल्ती पनि गर्यो होला। तर, पछिल्ला कयौं वर्षका कयौं सरकारको भन्दा यो सरकारको दिशा ठिक छ र गति गुणात्मकरुपमा तिब्र छ।

हाम्रो अहिले प्रमुख ध्यान भौतिक पूर्वाधार निर्माणमै हुनुपर्छ, त्यो तीब्र गतिमा अघि बढिरहेको छ । विदेशी पुजी अत्यावश्यक छ, जसलाई भित्र्याउन अनेक नीतिगत सुधार गरिएको छ र त्यसको परिणाम देखिएको पनि छ । कृषि र उद्योगलाई अनुकूल वातावरण तयार पारिएको छ । यी सबै प्रयत्नका परिणाम आउन थालेको सरकार र उसका समर्थकको दावीले मात्रै नभएर मान्य अन्तराष्ट्रिय संस्थाहरुको सूचकले पनि स्पष्ट पार्छन्। 

यी र यस्ता कामका कारण मुलुकको भविष्यमा आशाको ज्योति देखाएका प्रधानमन्त्री ओलीको स्वास्थ्य अहिले नेपालीजनको चासो बनेको हो । त्यसैले, अरु एक सातासम्म नेपालीका आँखा र कान महाराजगंज शिक्षण अस्पतालमा केन्द्रित हुनेछन् । कुनै शंका छैन, ६८ वर्षीय यी लडाकूले यो लडाई पनि जितेर आउनेछन् ।

डियर प्रधानमन्त्री, तपाईलाई विजयको शुभकामना । 

प्रकाशित मिति: : 2020-03-04 04:13:00

प्रतिकृया दिनुहोस्