प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा अपेक्षाकृत सुधार देखिएको अस्पतालले जनाएको छ ।
मिर्गौला प्रत्यारोपणपछि त्रिवि शिक्षण अस्पतालको आइसियुमा सघन उपचार गराइरहेका प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थामा अपेक्षाकृत सुधार रहेको अस्पतालका कार्यकारी निर्देशक प्राडा प्रेमकृष्ण खड्गाले बताए।
‘उहाँको स्वास्थ्यमा अपेक्षाकृत सुधार देखिएको छ,’बिहीबार अपरान्ह अस्पतालमा पत्रकार सम्मेलन गर्दै उनले भने। आजदेखि तरल र नरम आहार दिन सुरू गरिएको उनले जानकारी दिए।
प्रधानमन्त्री ओलीको बुधबार मिर्गौला प्रत्यारोपण गरिएको थियो। प्रधानमन्त्री ओलीलाई एउटा मिर्गौला दान गर्ने समिक्षा संग्रौलाको पनि स्वास्थ्य अवस्था राम्रो रहेको उनले बताए।
‘मिर्गौलादाताको पनि स्वास्थ्य अवस्था सामान्य छ, उहाँलाई पनि झोलिलो र नरम खानेकुरा दिइएको छ,’ प्रेस ब्रिफिङमा भने।