आयोजक माईभ्याली क्लब इलाम छैटौं संस्करणको माईभ्याली गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ।
इलामको टुँडिखेलमा बिहिबार भएको दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा ५–४ गोल अन्तरले पराजित गर्दै आयोजक माईभ्याली फाइनलमा पुगेको हो।
खेलको निर्धारित र थप गरिएको अतिरिक्त समय १–१ गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा गएको थियो।
अतिरिक्त समयमा पनि बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा गएको थियो। टाइब्रेकरमा आयोजक टिमका देव लिम्बु, एन्ड्रो थियर यिबाक, लिला क्षेत्री, पासाङ शेर्पाले गोल गर्दा शरण बस्नेतको प्रहार आर्मीका गोलरक्षक विवश चौधरीले बचाएका थिए। विशाल तामाङको प्रहार बाहिरिएको थियो।
यता आर्मीको तर्फबाट दिपक गुरुङ, दिप लामा, राजीव गुरुङ र राजु आलेको प्रहार गोल हुँदा सन्तोष तामाङ, इश्वरी बानिया र भरत चौधरीको प्रहार गोल हुन सकेन। खेलको अतिरिक्त समयमा आर्मीका विवेक बस्नेतले दोहोरो पहेलो कार्ड खादै बाहिरिए पछि आर्मी १० खेलाडीमा सिमित भएको थियो।
पेनाल्टी अघि खेलको ३४ औं मिनेटमा करण राईले गोल गर्दै आयोजकलाई अग्रता दिलाएका थिए। तर, ४१ औं मिनेटमा सन्तोष तामाङले फ्रिकिकमा गोल गर्दै आर्मीलाई १–१ को बराबरीमा ल्याएका थिए।
अब फाइनलमा आयोजकले मछिन्द्र फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ। मानेभञ्ज्याङ एफसी दार्जिलिङलाई ३–० गोल अन्तरले पराजित गर्दै मछिन्द्र उपाधि नजिक पुगिसकेको छ।