फ्रान्समा कोरोनाको डर त छ, तैपनि चिन्ता गरेजस्तो देखिदैन

फ्रान्सको समय अनुसार बिहीबार बेलुका ८ बजे यो समाचार तयार पार्दासम्म फ्रान्समा  कोवेड-१९ बाट सातजनाको मृत्यु भएको छ भने कोरोना भाइरस संक्रमितको संख्या चार सय २३ पुगेकोछ। मृत्यु हुने अधिकांश वृद्ध र दीर्घरोगी रहेका छन्।

हरेक बेलुका फ्रान्सको स्वास्थ्य मन्त्रालयले कोरोना भाइरस संक्रमितको तथ्यांक सार्वजनिक गर्छ ।यसरी सार्वजनिक गरिने संख्या प्रयोगशालामा पक्का भएर आएको संख्या हो।

फ्रान्सको यति नै जनसंख्या कोरोना भाइरसबाट संक्रिमत छ भन्न सकिन्न तर एक कोरोना संक्रमितले दुईदेखि तीन स्वस्थ मानिसलाई संक्रमित पार्न सक्छ भनिएकोले वास्तविक संक्रमित सतहमा आएभन्दा ज्यादा नै हुन सक्ने अनुमान गरिएको छ ।

कोरोनाको गुँड मानिएका केही साना शहरका कलेज, स्कूल, हाट बजार बन्द गरिएका छन्; सार्वजनिक जमघट पनि निषेध गरिएका छन् ।सरकारले पाँच हजारभन्दा बढी मानिस जमघट हुन बन्देज लगाएको छ । 

यसले गर्दा फ्रान्समा आउने आइतबार हुन गइरहेको नगरपलिका चुनाबलाई ठूलो धक्का पुगेको छ । कोरोना भाइरस संक्रिमत सहरका नगरप्रमुखले चुनाब सार्नुपर्ने माग गरेपनि सरकारले उनीहरूको मागलाई सम्बोधन गरेको छैन । कोरोना भाइरसको त्रासले गर्दा बहुमत मतदाताले भोट नखसाल्ने अनुमान गरिएको छ । 

अहिले सम्म फ्रान्सले कुनै पनि सीमा बन्द गरिएका छैनन् । नेपालमा जस्तो यहाँका एयरपोर्टमा कोरोना भाइरस चेकजाँच गर्ने डेस्क पनि राखिएको छैन।

फ्रान्समा कोरोना भाइरसको उर्लदोँ प्रकोप देखिन थालेको एक साता भयो। देशको उत्तर क्षेत्रबाट शुरु भएको कोरोना भाइरसको प्रकोप अहिले फ्रान्सभर फैलिएको छ ।

राजधानी पेरिस र पेरिस वरपर तथा फ्रान्सका अन्य ठूला ठूला शहरमा कोरोनाको प्रकोप फाट्टफुट्ट मात्र देखिएकोले मानिसले सार्वजनिक यातायातका साधन निर्धक्क प्रयोग गरिरहेका छन् ।

पेरिसमा मात्र दैनिक पाँच लाखको हाराहारीमा मानिसले सार्वजनिक यातायातको प्रयोग गर्छन् जसमा मेट्रो र ट्रेन पहिलो नम्बरमा पर्छन्। सँधैझै यतिबेला पनि मेट्रो र ट्रेन खचाखच नै छन्।

कोरोनालाई यहाँ कडा खालको रुघा खोकीको रुपमा लिइएको छ । फ्रान्समा बर्षेनी ८ हजारको हाराहारीमा मौसमी रुघा खोकीकै कारण मृत्यू हुने गरेको छ।

फ्रान्समा आशंकाकै भरमा कुनै पनि ब्यक्तिको सहजै कोरोना परीक्षण हुँदैन। यसको लागि सँक्रमितले केही शर्त पूरा गरेको हुनुपर्छ। संक्रिमत भनिएको ब्यक्ति संक्रमण फैलिएको क्षेत्रमा बसोबास गरेको हुनुपर्छ। रुघाखोकीका साथ साथ ज्वरो आएकै हुनुपर्छ  र श्वास-प्रस्वासमा निकै बाधा उत्पन्न भएको हुनुपर्छ। यस्ता लक्षण भएका मानिसलाई मात्र यहाँको इमरजेन्सी सेवाले अस्पताल पुर्याउँछ ।

यो बाहेक अरु साधारण रुघाखोकी र ज्वरोको अबस्थामा भने स्वास्थ्य मन्त्रालयले आफ्नै पारिवारिक चिकित्सककोमा जान या नजिकको अस्पतालमा पुग्न अनुरोध गरेको छ ।

यसरी बिशेष शर्त पूरा गर्नुपर्ने कारण चाहि अरु खालका आकस्मिक बिरामीलाई दिइने उपचार र सेवामा बाधा नपुगोस् भनेर हो ।

फ्रान्सका ४५ प्रयोगशालामा कोरोनाको परीक्षण हुन्छ । दैनिक एकहजार पाँचसय मानिसको कोरोना परीक्षण भैरहेको छ। धेरै जसो कोरोना भाइरस संक्रमितको परीक्षण पेरिसको लुइस पास्टर बैज्ञानिक प्रयोगशालामा भैरहेको छ ।

इटालीमा यतिबेला ११ हजार भन्दा बढी र बेलायतमा कमसेकम १६ हजार कोरोना परीक्षण भएपनि संक्रमितको संख्या निकै कम देखिएकोले फ्रान्सले जथाभावी परीक्षणलाई प्रश्रय दिएको छैन। शंकाका भरमा आकस्मिक सेवालाई फोन नगर्न नागरिकलाई अनुरोध गरिएपनि अचेल फ्रान्सको इमर्जेन्सी सेवाको टेलिफोन भने अत्यधिक ब्यस्त हुन थालेको छ। यसले गर्दा कोरोनाको त्रासमा परेका मानिसमा फाट्टफुट्ट बिद्रोहको भावना पनि जागृत भएको देखिन्छ।

बुधवार मैले संयोगबस आँखाको इन्फेक्सनको कारण फ्रान्सका दुई अस्पतालका इमर्जेन्सी सेवा पुग्ने अबसर पाएँ। शुरुमा मैले इमरजेन्सी सेवालाई फोन गरेँ । उनीहरुले एम्बुलेन्सको सट्टा दमकल सेवाको गाडी पठाइदिए । उनिहरु मास्क र पञ्जाबिहीन थिए ।

म बसेको शहर नजिकैको अर्से भन्ने शहरमा पर्ने अस्पतालको इमरजेन्सी सेवामा म पुग्दा ढोका अगाडि हामीहरु हडतालमा छौँ भनी लेखिएको पम्पलेट टाँसिएको थियो। बिरामीकक्षमा 'यो कक्षको पर्खाल लाजको पर्खाल हो' लेखिएको कागजी ब्यानर टाँसिएको थियो ।

स्वास्थ्यकर्मीले साधारण खालको मास्क लगाएको देखेपछि तपाईंलाई कत्तिको डर लाग्छ कोरोना भाइरस सँक्रमणको भनी प्रश्न गरेँ । उनले यसको जवाफ प्रतिप्रश्न तेर्स्याएर  दिइन्, ‘आखिर नहुने भएरै छाड्छ र तपाईंको शरीरको प्रतिरोध क्षमता तगडा छ भने तपाईं बाँच्नुहुन्छ डराएर के गर्ने र कति दिन डराउने ?’ 

मैले सोधें, ' यस्तो संक्रमणको अबस्थामा पनि किन हडतालमा हुनुहुन्छ ?', उनले फ्रान्सको आकस्मिक सेवामा काम गर्ने स्वास्थ्यकर्मीको संख्या, सेवा र सुबिधामा कटौती हुँदै गइरहेकोले बिरामीलाई विश्वसनीय र भरपर्दो सेवा दिन नसकिएकोले भनेर जवाफ फर्काइन्। 

त्यहाँको अबस्था आश्चर्यलाग्दो थियो। जति पनि स्वास्थ्यकर्मी उपलब्ध थिए तीमध्ये निकै कमले मात्र मास्क र पन्जाको प्रयोग गरेका थिए। पाँच घन्टा अस्पतालमा बिताउँदा मैले कुनै न कुनै कोठा या करिडोरमा कोरोना संक्रमण भन्ने शब्द कयौँ पटक सुनेँ। तर कसैले पनि बिशेष शतर्कता अपनाएको भने देखिँन।

यही अस्पतालले मलाई एउटा एम्बुलेन्स बोलाएर पेरिसको आँखासम्बन्धी विशेष अस्पताल ‘कोशाँ’ पठायो। मलाई लिन आउने एम्बुलेन्सका दुवैजना कर्मचारीले मास्क पहिरिएका थिएनन। ‘कोशाँ’ अस्पतालको आँखा बिभागको इमरजेन्सी कक्षको ठूलो बोर्डमा कोरना सर्ने माध्यम बारे जानकारी दिइएको थियो तर बिडम्बना मास्क नै नलगाएका आँखा विशेषज्ञ र नर्स अर्से अस्पतालमा जस्तै करिडोरमा ओहोरदोहोर गरिरहेका थिए। 

मलाई मास्क नै नपहिरिएकी नेत्र रोग विशेषज्ञले कम्तीमा चारपटक परीक्षण गरिन्। उनले मलाई मात्र होइन मसँगै अस्पतालपुगेका अरू पाँच बिरामीलाई पनि बिना मास्क परीक्षण गरिन्। जबकि कोरोना भाइरस आँखाको आशु र स्वास-प्रश्वासका माध्यमबाट समेत सर्न सक्छ भनिदै आइएको छ।

उनले मलाई केही ओखती प्रयोग गर्नु भनेर लेखिदिएकोले म बेलुका साढे १० तिर एक औषधी पसल पुगेँ। त्यहाँ मैले ओखतीबाहेक अल्कोहल मिसिएको किटाणु नाशक तरल पर्दाथ किन्न चाहेँ। उनले मलाइ यस्तो खालको तरल पदार्थ फ्रान्समा ‘स्टक आउट’ भैसक्यो भन्दै सावुन पानीले पटकपटक हात धुन अनुरोध गरे। उनी पनि बिना मास्क नै काम गरिरहेका थिए।

त्यसपछि म रात्रीकालिन टेक्सी लिएर घर फर्केँ। मैले टेक्सी ड्राइभरलाई सोधेँ, ‘तपाईलाई कोरोनाको डर लाग्दैन ?’ उनले भने, ‘लाग्दैन किनभने कोरोना कडा खालको रुघाखोकी हो। फ्रान्समै पनि मौसमी रुघाखोकीले बर्षेनी हजारौँ मानिस मर्छन् । कोरोना भाइरस संक्रमितको मृत्यूदर मौसमी रुघाखोकीको भन्दा निकै कम छ।‘

उनैले एक सातादेखि हरेक रात गुल्जार या जीवन्त रहने पेरिसका पर्यटकीय गल्ली सुनसान बन्दै गइरहेकोमा चिन्ता व्यक्त गरे। उनले थपे, ‘अहिले बेलुका एयरपोर्ट पुगेको थिएँ तर जहाज मात्र आयो पर्यटक त आउन छाडे । पहिला त ह्वारह्वार्ती पर्यटक निस्कन्थे र हामीले ग्राहक पनि तुरुन्त पाउँथ्यौँ। अचेल ग्राहक पाउन यो गल्ली र उ गल्ली चाहरिरहनु पर्छ।'

कोरोना भाइरस संक्रमणको भन्दा पनि उनलाई अरर्कै चिन्ता रहेछ । उनी यतिमै थामिएनन्, अगाडी भन्दै थिए, 'यस्तै समस्या रहिरह्यो भने कसरी यो टेक्सीको ऋण तिर्ने ? बैकले कोरोना लागेको भनेर छाड्दैन । उसलाई त महिनावारी तिर्नै पर्छ।‘ 

फ्रान्समा पनि कोरोसा भाइरस संक्रमणको सन्त्रास ब्यापक छ तर पनि मानिसहरू काममा उसैगरी निर्धक्क गइरहेकै छन् । धेरैको मनमा देखा जाएगा भन्ने भावनाले काम गरिरहेको जस्तो देखिन्छ।

फ्रान्सको सरकारले फ्रान्समा कोरोना भाइरस संक्रमण दोस्रो तहमा पुगेको भन्दै आइरहेको छ। आजको दिन सम्म फ्रान्सले आफ्ना नाका बन्द गरेको छैन र हवाइ उडान पनि कटौती गरेको छै । बरु इजरायलले फ्रान्सेली पर्यटक उसको देशमा भित्रिन नदिने निर्णय गरेको छ ।

प्रकाशित मिति: : 2020-03-06 22:31:45

प्रतिकृया दिनुहोस्