एनआरएनए अध्यक्ष पन्तलाई बेलायतमा कालो झण्डा, आर्थिक घोटालाको छानबिन गर्न माग

गैर–आवासीय नेपाली संघ बेलायतको स्थापना दिवसमा भाग लिन लन्डन पुगेका एनआरएनए केन्द्रीय अध्यक्ष कुमार पन्तलाई कालो झण्डा देखाइएको छ। एनआरएन युकेले बिहीबार आफ्नाे स्थापना दिवस मनाउने क्रममा अध्यक्ष पन्तलाई कालो झन्डा देखाइएकाे हाे। एनआरएनएको इतिहासमा अध्यक्षलाई कालाे झण्डा देखाइएकाे सम्भवत याे पहिलाे घटना हाे। 

‘अध्यक्षलाई औपचारिक कार्यक्रममा कालो झण्डा देखाउनु हाम्रो बाध्यता हो’, विराेधमा उत्रिएका सदस्यले भने।

एनआरएनए युकेमा चुनावदेखि नै विभिन्न बदमासी र आर्थिक घोटलाका कार्यहरू प्रत्यक्ष देखिएकाे र यसको समाधान गर्नुको साटो झन् झन् संस्थालाई एकलौटी हिसाबमा अध्यक्ष पुनम गुरूङले सञ्चालन गरेकाे भन्दै यसकाे विराेध हुँदै आइरहेकाे थियाे। गुरुङले मन परेका आफ्ना व्यक्तिलाई नियुक्त गरेको र नियुक्ति प्रक्रिया पुरा नगरी विभिन्न सम्मान समेतको आयोजना गरेकाे भन्दै उनीहरुले नाराबाजी गर्नुका साथै कालो झण्डा देखाएका थिए। 

‘चुनावमा सदस्य बनाउन हामी सबै चाहिने, यतिबेला हाम्राे कुराकाे सुनवाई नहुने?’  आक्राेशित सदस्यले बताए। विश्व अहिले कोरोना भाईरसकाे संक्रमणबाट आक्रान्त भएको अवस्थामा संसारभर विभिन्न कार्यक्रम स्थगित भइरहेकाे बेला माेटाे रकम खर्चेर कार्यक्रमकाे आयाेजना गर्नुकाे तुक पनि आफूहरुले नदेखेकाे उनीहरुकाे भनाई थियाे।

उनीहरुले यसकाे पूर्व जानकारी आफूहरुले सस्थाका पदाधिकारीले दिएकाे तर यसकाे वेवास्था गरिएकाे बताए। एक सदस्यले भने–‘अध्यक्ष पन्तले पनि कोराेनाका कारण कार्यक्रममा उपस्थित हुन सक्दिन, पहिला एनआरएन यूकेको घरको समस्या समाधान गर्नुस् भनेर शुभकामना मात्र दिएको भए सबैले उनकाे प्रसंसा गर्ने थिए’, विराेधमा सहभागी एक सदस्यले बिएल नेपाली सेवासँग भने। 

बिहीबार ‘अल्डरसट’ मा संस्थापक र सल्लाहकारको सम्मानमा आयाेजना गर्न लागिएकाे कार्यक्रममा एनआरएनए यूकेका ४ उपाध्यक्ष प्रेम गाहामगर, नारायण कंडेल, रामचन्द्र पोखरेल र मोहन कार्कीले संयुक्त प्रेस सम्मेलन गरी विराेध गरेका थिए। उनीहरुले उक्त कार्यक्रम विधान विपरीत भएको जानकारी पनि गराएका थिए।  

कार्यसमितीबाटै कतिपय सहभागीले निर्वाचन निष्पक्ष नभएको भन्दै आपत्ति समेत जनाएका थिए। आईसीसी अध्यक्ष पन्तलाई एक पक्षले जसरी पनि प्रमुख अतिथिको रुपमा बोलाउने र अर्को पक्षले विवादित कार्यक्रममा नआउन अनुरोध गरेको थियो। निवर्तमान कार्यसमितिले करिब चार लाख पाउन्डको हिसाबकिताब नबुझाउँदा र निर्वाचन पनि पारदर्शी नहुँदा साधारण सदस्यले छानबीनको माग गरेका थिए।

काठमाडौँको बालुवाटारमा रहेको सरकारी जग्गामा कराैडाे खर्चेर बनाएकाे भवन गैरकानुनी भएकाे अख़्तियारले ठहर गरेपछि पछिल्लो समय विदेशमा रहेका नेपालीहरु निरास बनेका छन्। एनआरएनएका नेताहरूको कतिपय खराब क्रियाकलापले गर्दा दिनानुदिन संस्थाको साख गिर्दो रहेकाेमा पनि धेरैकाे चित्त दुखाई छ। भवनको जग्गाको वास्तविकता सोध्दा अध्यक्ष पन्त नै अनभिज्ञता जनाउँछन्। उनी संघलाई दलाल र भूमाफीयाले फसाएको भन्दै पन्छिँदै आइरहेका छन्।

अहिले उनकाे विराेध हुनुकाे मुख्य कारण याे पनि थियाे।
 

प्रकाशित मिति: : 2020-03-07 08:33:52

प्रतिकृया दिनुहोस्