चीनबाट सुरु भएको कोरोना भाइरसको आतंक विश्वमा फैलिएको छ। जसले खेलकुद क्षेत्रलाई समेत असर गरेको छ।
नेपालमा कोरोना संक्रमित भेटिएको छैन तर धेरै खेलकुद प्रतियोगिता स्थगित गरिएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले बी डिभिजन लिग भने रोकेको छैन। धेरै दर्शक नहुने भएकाले यो रोकिएको छैन।
तर करोनाको प्रभाव भने परेको छ। कोरोनाबाट बच्न खेलअघि खेलाडी र म्याच अफिसिलयहरुले हात मिलाउन छाडेका छन् र, नमस्ते गर्न थालेका छन्। एन्फा कम्प्लेक्समा आइतबार मध्यपुर युथ एसोसियसन र ब्वाईज युनियन क्लबबीचको खेलमा समेत दुवै टिमका खेलाडी र अफिसियलले हात मिलाएनन्। उनीहरुले हात मिलाउनको साटो नमस्ते गरेका थिए।
दुवै टिमका खेलाडी र अफिसियलले हात मिलाएनन् बरु नमस्ते गरे।
मध्यपुर र ब्वाइज युनियनको बराबरी
बी डिभिजन लिगमा मध्यपुर युथ एसोसियसन र ब्वाइज युनियन क्लबले गोलरहित बराबरी खेल्दै अंक बाडेका छन्।
बराबरीपछि लिगमा मध्यपुरले पहिलो अंक जोडेको छ। यसअघि मध्यपुरले लगातार तीन खेल हारेको थियो। ४ खेलबाट मध्यपुरले १ अंक जोडेको छ।
ब्वाइज युनियनको पनि यो पहिलो बराबरी हो। यसअघि दुई जित र एक हारको नतिजा निकालेको ब्वाईज युनियनले ४ खेलबाट ७ अंक जोडेको छ।