सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलको लागि जारी एसियाको सम्पूर्ण छनोट खेल स्थगित भएको छ ।
विश्व फुटबलको सर्वोच्च निकाय फिफा र एसियन फुटबल फेडेरेसन (एएफसी) एसिया छनोट खेल स्थगित गर्न सहमत भएका छन् ।
विश्वमा महामरीको रुपमा फैलिएको कोरोना भाईरसको कारण फिफा र छनोटमा सहभागी राष्ट्रसँगको छलफलपछि मार्च र जुनमा तय भएको छनोट खेल स्थगित गर्ने निर्णय गरिएको एएफसीले सोमबार जनाएको छ ।
एसिया छनोट अन्तर्गत मार्च २३ र ३१ तथा जुन १ र ९ मा तय भएको खेल स्थगित गरिएको हो ।
फिफा र एएफसीले छनोट खेलको नयाँ मिति कोरोना भाइरस नियन्त्रणमा आएपछि उपलब्ध गराउने बताएको छ ।
यस्तै तुर्किमिनिस्तानमा तय भएको एएफसी फुटसल च्याम्पियनसिप पनि स्थगित गरिएको छ ।
विश्वकप छनोट अन्तर्गत नेपालले मार्चमा अष्ट्रेलिया र चाईनिज ताईपेसँग घरेलु मैदानमा खेल्ने तालिका रहेको थियो ।
नेपालले मार्च २३ मा चाईनिज ताईपेसँग र मार्च ३१ मा अष्ट्रेलियासँग दशरथ रंगशालामा खेल्ने तय भएको थियो ।
विश्वकप छनोटको समूह चरणको चारै अवे खेल खेलिसकेको नेपालले अब बाँकी खेल घरेलु मैदानमा खेल्नेछ ।