आहा रारा गोल्डकप : डेढ दशकपछि मनाङ र पुलिस फाइनलमा भिड्दै

पछिल्लो पटक वि.सं २०६१ मा तेस्रो संस्करणको आहा रारा गोल्डकपको उपाधिका लागि प्रतिस्पर्धा गरेका मनाङ मस्र्याङ्दी क्लब र नेपाल पुलिस क्लब डेढ दशकपछि पुनः फाइनलमा भिड्ने भएका छन्।  

सहारा क्लब पोखराको आयोजनामा यही फागुन २२ गतेदेखि पोखरा रङ्गशालामा सञ्चालन भइरहेको १८ औँ संस्करणकोे उपाधिका लागि शनिबार यी दुई टोली फाइनलमा भिड्न लागेका हुन्। यसअघि विसं २०५८ को क्याराभान गोल्डकप तथा  विसं २०६० को दोस्रो र विसं २०६१ मा आयोजना भएको तेस्रो संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा यी दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए।  

क्याराभान पुलिस तथा दोस्रो र तेस्रो संस्करणको उपाधि मनाङले जितेको थियो। आहा रारामा मनाङ र पुलिस विसं २०६८ को दशौँ संस्करणको क्वार्टरफाइनल तथा बाह्रौँ संस्करणको सेमिफाइनलमा समेत प्रतिस्पर्धा गरेकामा दुवैमा मनाङ विजयी भयो। दुवै टोली आहा राराका सफल क्लब हुन्। पुलिसले ‘क्याराभान’ गोल्डकपसहित हालसम्म छ पटक उपाधि उचाल्दा मनाङले पाँच पटक उपाधि चुम्न सफल भएको छ। विभागीय टोली पुलिसले क्याराभानसहित विसं २०५९ को पहिलो, २०६४ को छैटौँ, २०६५ मा सातौँ, २०६६ को आठौँ र २०७४ को सोह्रौँ संस्करणको उपाधि आफ्नो पोल्टामा पारेको छ।  

मनाङ विसं २०६० को दोस्रो, विसं २०६१ मा तेस्रो, २०६८ को दशौँ, विसं। २०७२ मा चौधौँ र २०७३ को पन्धौँ गरी हालसम्म पाँच पटक च्याम्पियन बन्न सफल भएको छ। जारी संस्करणमा पुलिसले क्वाटरफाइनलमा आयोजक सहारालाई टाइब्रेकरमा ४–२ तथा सेमिफाइनलमा थ्रीस्टार क्लबलाई ३–० ले हराउँदै फाइनलमा स्थान बनाएको हो।

मनाङले क्वाटरफाइनलमा झापामाथि १–० तथा सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबमाथि ३–२ को जीत निकाल्दै फाइनल प्रवेश गरेको हो। यस वर्ष शहीद स्मारक ‘ए’ डिभिजन लिगमा मनाङले पुलिसलाई २–० ले हराएको थियो। त्यसलगत्तै धरानमा भएको बुढासुब्बा गोल्डकपको फाइनलमा पुलिसको ‘बी’ टोली मनाङसँग ३–१ ले पराजित भएको थियो।  

शनिबार हुने फाइनल खेल अघि आज आयोजित पत्रकार सम्मेलनमा दुवै टोलीका प्रशिक्षक तथा कप्तानले राम्रो फुटबल खेल्दै प्राप्त अवसरको सदुपयोग गरेर उपाधि जित्ने दाबी गरेका छन्। पुलिसका प्रशिक्षक अनन्त थापाले मनाङ राम्रो टोली रहे पनि आफ्ना खेलाडीले मेहनत गरेर उपाधिका लागि खेल्ने बताउनुभयो।  

टोलीमा कोही पनि खेलाडी घाइते नरहेको बताउँदै उनले युवा टोलीले निर्धारित समयभित्रमा नै नतिजा आफ्नो पक्षमा पार्ने गरी खेल्ने उनको भनाइ छ। “मनाङ राम्रो क्लब हो, फाइनल खेल जहिले पनि फिप्टी÷फिप्टी हुन्छ, हाम्रा खेलाडी भोलि गतिका साथ उपाधि जित्ने गरी मैदानमा उत्रिने छन्”, थापाले भन्नुभयो। मनाङका प्रशिक्षक फुजा टोपेले आक्रामक फुटबल खेल्दै उपाधि चुम्ने टोलीको लक्ष्य रहेको बताए। पोखरेली मैदानमा टोलीलाई समर्थकको समेत साथ मिल्ने विश्वास उनको छ।

मनाङका कप्तान कमल श्रेष्ठले सेमिफाइनलमा आर्मीलाई पराजित गर्दा टोलीको मनोवल उच्च रहेकाले समेत अघिल्लो दिनको जस्तै प्रदर्शन फाइलनमा दोहो¥याउँदै उपाधि जित्ने उल्लेख गरे। पुलिसका कप्तान भरत शाहले फाइनलको यात्रासम्म युवा टोलीले राम्रो नतिजा निकालेकाले शनिबारको खेलमा समेत राम्रो फुटबल पस्किँदै दर्शकको मन जित्ने र समर्थन प्राप्त गर्ने गरी खेल्ने बताए।  

प्रतियोगिताको विजेताले रु १० लाख एक हजार तथा उपविजेताले रु पाँच लाख एक हजार पुरस्कार प्राप्त गर्नेछन्। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान स्कुटर तथा सर्वाधिक गोलकर्ताले रु २५ हजार पुरस्कार प्राप्त गर्नेछन्। त्यसैगरी उत्कृष्ट गोलकिपर, डिफेण्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकलाई जनही रु १५ हजारका दरले पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।  

प्रकाशित मिति: : 2020-03-14 05:02:06

प्रतिकृया दिनुहोस्