आमा झुपडीमा, छाेराबुहारीकाे पक्की घर

हाम्रो समाज शब्दले जेष्ठ नागरिकप्रति जति सद्भाव र प्रेम प्रकट गर्ने गर्दछ, त्यसको तुलनामा अनुशरण गरेको पाईदैन। जेष्ठ नागरिकको हकसम्बन्धि कानुन छ तर त्यो ग्रामिण क्षेत्रका जेष्ठ नागरिकलाई थाहा छैन।

तीन तहको सरकार भएको अनुभूति जेष्ठ नागरिकलाई छैन। त्यसमा पनि ग्रामिण क्षेत्रका जेष्ठ नागरिक स्थानीय सरकारको ध्यानमा पर्दैनन्। जेष्ठ नागरिक सरकारी कर्मचारीद्वारा पनि अपहेलित हुने र ठगिनेसम्बन्धी गुनासो गर्ने गर्दछन्। बृद्ध भत्ता र एकल महिला भत्ता लगायतका सरकारी सुबिधा समयमा पाइरहेका हुँदैनन्। प्रायः बृद्धबृद्धालाई सरकारी सुबिधा र कानुनी व्यवस्था सम्बन्धमा थाहा नभएर दुःख झेलिरहेको भयावह दृश्य ग्रामिण क्षेत्रमा देख्न गार्हो छैन।

यहि सेरोफेरोमा बिएल नेपाली सेवाले पर्सा जिल्लाकाे पर्सागढी नगरपालिका वडा न ५ पर्शुरामपुर टाेलकी ८५ वर्षीय बृद्धा हजुरआमा फात्मा खातुनसँग गरेको संवाद:  

फात्मा खातुनकाे घरसम्म पुर्‍याउन मलाई साेही क्षेत्रका युवा जागरण मंचका अध्यक्ष शेष शम्सेद र स्थानीय पत्रकार नरेश यादवले सहयोग गरेका थिए।

हामी उनको घरमा दिउँसो ३ बजे पुग्दा आँगनमा दुईचार वटा कुखुरा आहाराको खोजीमा यताउती डुलिरहेका थिए। त्यहाँको अवस्था लगभग सुनसान जस्तै थियो। एउटा पक्की घरसँगै टालीले छाएको माटोको घर जहाँ शेष शम्सेदले बृद्ध फात्मालाई हजुरआमा भन्दै बाहिर आउन आवाज दिए।

म पक्कि घरतिर हेरिरहेकाे थिए। मलाई लाग्याे उनी पक्की घरमा बस्छिन् हाेला। तर, लुगाले मुख छोपेकी एउटी बृद्धा माटोवाला घरबाट बाहिर निस्किइन्। 

पछि स्थानीयबाट थाहा भयाे, छोराहरु पक्कि घरमा बस्छन् रे! अनि बृद्धा महिला माटोको घरमा। मैले साेचे–एउटा बृद्धाको घरमा हुन्छ नै के?

घरभित्र छिरेपछि थाहा भयाे, श्री सम्पतिकाे नाममा उनीसँग एउटा माटोको सानो चुलो, सुत्ने मचान (चारवटा काठको खुट्टा गाडेर सोहीमाथी काठको पटरीले खाट जस्तै बनाइएको छ, जसमा आधाजति भागमा बोरामा सरसामान राखिएको थियो), सिमेन्टको बोरालाई सिलेर बनाइएको बेडसिट, मच्छरजाली, एउटा छाता, केही खाना खाने वर्तन रहेछ। 

पैतृक सम्पतिको नाममा यो बाहेक उनीसँग अरु केही थिएन। आँगनमा खरको टाटिमा सुकिरहेको कपडा, भुई‌ंमा राखिएको दाउरा र ठूलो आकारको चुल्हाे आदि सबै छोरा–बुहारीकाे भागमा परेकाे रहेछ। 

वास्तवमा उनको घरमा चार जना बसेर कुरा गर्ने ठाउँ थिएन। घर नजिकैको मिलमा बसेर हामी कुरा गरिरहेका थियौं। केहीबेरपछि ६ र ७ जना स्थानीय महिला र पुरुष त्यहाँ उपस्थित भई बडो चाखपूर्वक हामीबीचकाे कुराकानी सुनिरहे।      

कुराकानीकाे क्रममा मैले उनको भत्ताको कार्ड पनि हेर्न भ्याए। साबिक गाउँ विकास समितिको कार्यालय बिरुवागुठीले २०७१ सालमा एकल महिला भनेर उनलाई कार्ड बनाइदिएकाे रहेछ। नागरिकतामा उनकाे उमेर ६९ बर्ष थियाे। तर, स्थानीय याे मान्न तयार थिएनन्। ‘उतिबेला नागरिकता लिनेबेला अन्दाजी उमेर लेखाइन्थ्यो। त्यसैले उनको वास्तविक उमेर भन्दा नागरिकतामा कम उमेर भएको हो,’ स्थानीय भन्दै थिए। उनी हाल एकल महिलाकाे भत्ता मात्र पाउँछिन्। उनको भत्ता कार्डमा मासिक एक हजारका दरले गत आव ०७५ र ७६ को साउनदेखि कात्तिकसम्मको ४ हजार रुपैयाँ प्राप्त भएकाे देखाइएकाे थियाे।

उनका पति महबुब मियाँ दर्जीको मृत्यु भएको ६ बर्ष बितिसकेकाे छ। उनका चार छोराबुहारी छन्। तर, उनी एक्लै बस्द्छिन्। लगभग आठ बर्षदेखि उनले एउटै आँखाले संसार नियाल्दै आएकी छिन्। शरीर कमजोर भएपनि सानो कद्काठी र दुब्लो शरीर भएको हुनाले हिँडडुल गर्न सक्छिन्। दाँत दुई–चार वटा मात्रै बचेका छन्। अनुहार चाउरी परिसकेको छ। जिउका छाला पनि चाउरी सकेका छन्।

बुढेसकालमा एक्लै बस्दा उनलाई अत्यास लाग्छ। तर, एक्लै बस्नुबाहेक अर्काे उपाय छैन। ‘एक छोरी र चार छोरा छन्। छोरा बुहारीलाई बुढ्यौली बोलि मन पर्दैन होला र थरिथरिका कुरा सुनाउँछन्। त्यसैले एक्लै बस्छु,’ उनले आफू एक्लै बस्नु परेकाे कारण खाेतल्दै भनिन्–‘दु:खकाे कुरा कसलाई सुनाउनु? हिजाेआज छोरा–बुहारी भन्दा मेरो दु:ख–सुखका कुरा छिमेकीहरु सुन्छन् र सक्दो सहायता पनि गर्छन।’

उनी पछिल्लाे समय आफ्नाे खाध्यान्नकाे गर्जाे गाउँघर र टाेलछिमेकसँग मागेर टार्ने गरेकाे सुनाउँछिन्। भन्छिन्, ‘गाउँघर र टोलछिमेकबाट मागेर खान्छु। कतिले अलि–अलि पैसा पनि दिन्छन्।’ 

करिब एक घण्टा उनीसँग कुरा गर्दा मलाई लागिरहेकाे थियाे, सम्भवत: उनी श्रीमानकाे निधनपछि पहिलो पटक खुलेर आफ्नाे मनकाे बह पाेखिरहेकी थिइन। भनिन्, ‘कुनै चाँडबाडमा पैसा नहुँदा पतिले भन्थे–चिन्ता नलेउ उपरवाला (भगवान) को मर्जीले सबैथोक पुरा हुन्छ।’

उनकाे श्रीमान बालबच्चाको खुशीको लागि दिनरात परिश्रम गर्दथे। त्यतिबेला आफ्नाे आमाबुवा र छोराछोरी गरि ९ जनाको परिवार श्रीमान एक्लैले मजदुरी गरेर पाल्ने गरेकाे उनी सुनाउँछिन्। उनका श्रीमान महबुब साइकलमा दाउरा लोड गरेर करिब ३० किलोमिटर टाढा बिरगञ्ज शहरसम्म बेच्न जान्थे र साँझ घर फर्किने बेला खाद्यान्न लगायतका सामग्री किनेर ल्याउँथे।

चाँडबाडमा उनलाई विशेष श्रीमानकाे याद आउँछ। तर, के गर्ने सबैभन्दा बढी माया गर्ने जीवनस‌ंगीलाई दैवले पहिले नै उनीबाट चुडाएर लगिसकेकाे छ। उनी चाँडबाडमा छाेराहरुले खाना खान बाेलाउने बताउँछिन्। ‘किन झुट बोल्नु। जति गर्छन त्यो त भन्नै पर्यो। पोता र पोती गरि १२ जना छन्। तीमध्ये कान्छो छोरा सलिम मियाँको बच्चाहरु मसित बढी हिमचिम गर्छन। बोल्छन्, रमाउँछन्। ठूला भइसकेका अरु बच्चाहरु त्यति मतलब राख्दैनन्। छोराबुहारीहरू आफ्नै दुनियाँमा मस्त र व्यस्त छन्,’ उनले जीवनकाे कडा साँचाे उजागर गरिन्। 

अब त बाँचुन्जेल यसरी नै जिन्दगी बित्छ जस्तो लाग्छ उनलाई। भारतमा बिहे भएकी छोरी हालखबर बुझ्न कहिले काहीँ आउने गरेकाे उनी बताउँछिन्।  

‘के–के रोग छ, तपाईलाई ?’ मैले एक पल्ट साेधे।

उनले सुस्केरा हाल्दै भनिन्, ’हत्केलामा सधै दर्द भइरहन्छ। एउटा आँखा देख्दिन्। निद्रा लाग्दैन। रातभरी ओछ्यानमा यताउता कोल्टो फेरिरहन्छु। अरु कुनै रोग छैन।’

उनी खाना पनि दुई छाककाे एकै पल्ट पकाउँछिन्। उनले भनिन्, ‘कहिले काहीँ दाउरा नभएको बेला बुहारीले खाना पकाइसकेपछि उनीहरुको चुल्होमा बचेको तापमा खाना पकाउँछु।’

उनले श्रीमान जिवित हुँदा कहिल्यै भोकै सुत्नु नपरेकाे तर उनी बितेपछि धेरै पटक भोकै सुतेकाे अनुभव सुनाइन्। उनलाई अझै पनि आफ्नाे बिहेकाे कुरा गर्न लाज लाग्छ। उनले आफ्नाे बिहे दाइजाे रहित भएकाे बताइन् र भनिन्–‘दुबै परिवार गरिब थियाैं। एउटा कपडामा बिहे गरेका थियाैं। एउटा साडी र झुला (ब्लाउजको ठुलो आकार) मा बिदा भएकाे थिए। हामीसँग गर–गहना लगाउने हैसियत पनि थिएन।’ 

उनले आफू बुहारी हुँदा सासुकाे खुब सेवा गरेकाे सम्झिइन्। भनिन्,‘हामी बुहारी छँदा सासुको अदपमा बस्नुपर्छ भनेर माइतीबाट नै सिकेर आइन्थ्यो। सासुले नुहाएको कपडा धुनेदेखि हरेक सुख दिएकी थिएँ। प्रत्येक दिन राती सासुको जीउ मालिस गर्थे। अँ! मलाई सन्चो नभएको बेला सासुले पनि घरको काम गरिदिनुहुन्थ्यो।’

उनले कुनै बेला आफ्नाे सासु पनि बुहारी भएकाे बताउँदै भनिन्, ‘कुनैबेला मेरो सासु पनि बुहारी थिइन। सासु बृद्ध भइन र म यहि घरको बुहारी भएँ। आज बृद्ध भएकी छु। पालै पालो यस्तो अवस्था सबैको आउने हो। मेरा बुहारीहरु पनि सासु बन्ने हुन्।’

उनले अहिले आफू भावनात्मक कदर नपाएर वास्तविक बृद्धभन्दा कयाै गुणा बढी बृद्ध भएकाे बताइन्। उनले छुट्टिने बेला भनिन्, ‘अरु कुरा नयाँ वा जे जस्तो परिवर्तन भए पनि सामाजिक संस्कार पुरानै ठिक थियो। परिवारमा हरेक उमेर समुहका महिला पुरुष हुन्छन्, जसले एकअर्काको भावना बुझ्नु जरुरी छ। बृद्धालाई हेला गरेर मानसिक सन्तुलन बिगार्नु हुँदैन। माया गर्नु पर्छ। अरु त केही म जान्दिन। के भनु ?’       
 

प्रकाशित मिति: : 2020-03-16 19:37:00

प्रतिकृया दिनुहोस्