खुमलटार युथ क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा सहज जित निकालेको छ।
सोमबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा खुमलटारले श्री कुमारी क्लबमाथि ३–१ को सहज जित निकालेको हो।
खुमलटारका सविन केसीले ह्याट्रिक गरे। यता श्री कुमारीका विसन लामाले सान्त्वना गोल गरे। सबै चार गोल पहिलो हाफमा सम्भव भएको थियो।
खेलको नवौं मिनेटमा सविन केसीको गोलबाट खुमलटार खेलमा अघि बढेको थियो १२औं मिनेटमा श्री कुमारीका विसनले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए। १५औं मिनेटमा सविनले गोल गर्दै खुमलटारलाई पुनः २–१ को अग्रता दिलाए।
४२औं मिनेटमा सविनले ह्याट्रिक पुरा गर्दा खुमलटारले पहिलो हाफमा ३–१ को अग्रता लिन सफल भएको थियो।दोस्रो हाफमा दुवै तर्फबाट गोल निस्कन नसक्दा खुमलटार ३–१ ले विजयी हुन सफल भयो।
जितसँगै खुमलटार दोस्रो स्थानमा उक्लिएको छ। खुमलटारको ५ खेलबाट १३ अंक पुगेको छ। शीर्षस्थानको सातदोबाटो युथ क्लबको समान ५ खेलबाटै १५ अंक छ। पराजित श्री कुमारी ५ खेलबाट ४ अंक जोडेर नवौं स्थानमा छ।