कोरोना आशंकामा वीरगञ्ज अस्पतालमा भीड

कोरोना भाइरसको कारण पर्साको गाउँदेखी शहरसम्मका अस्पतालमा ओपिडी सेवा लिनेहरूको भीड दिनप्रति दिन बढदै गइरहेको छ। 

अस्पतालले संचालन गरेका ओपीडी कक्षमा बिरामी शंकाको भरमा उपचार गराउन आउने गरेको चिकित्सकको भनाइ छ। वीरगञ्जको नारायणी उप-क्षेत्रिय अस्पतालमा दैनिक बिरामीको चाप बढ्न थालेको चिकित्सकको भनाइ छ। 

डाक्टर रामकिशोर सिंहले बिगतमा ज्वरो वा खोकी लाग्दा उपचार गराउन नमान्ने बिरामी अहिले शंकाको भरमा अस्पताल आउन थालेका छन्। सबैभन्दा बढी बिरामी मेडिसिन वार्डमा भएको उनले बताए। 

अन्य लक्षण जस्तै खोकी तथा ज्वरो कोरोना भाईरसका बिरामीमा देखा पर्न थालेपछि आफू पनि सो भाइरसको शिकार भएको भन्दै मेडिसिन वार्डमा उपचार गराउन आउने बिरामीको भीड लाग्ने गरेको अर्का फिजिसियन डाक्टर राकेश तिवारीको भनाइ छ। 

‘जो पनि आउँछन्। टाउको दुख्ने, ज्वरो तथा खोकीको समस्या भएको बताउँछन्,’ डाक्टर तिवारीले बिएल नेपाली सेवासँग भने,‘अधिकांश बिरामीमा भ्रम फैलिएको छ, जनता आतिएर अस्पताल पुग्ने गरेका छन्।’ 

जनतालाई जति सम्झाउँदा पनि  नमान्ने उपचार गराउने व्यक्तिले आफू खुशी रगत, दिसापिसाब परीक्षण गर्नका लागि आग्रह गर्ने गरेको डा. तिवारीको भनाइ छ।

‘शरीरमा दैनिक कुनै नकुनै समस्या आइरहन्छ हतार गर्नुपर्ने जरुरी छैन, तपाईलाई न औषधी खानु पर्छ, न ल्याब परीक्षण गराउनु पर्छ, तर कोही मान्ने वाला छैन, आफू खुशी औषधी लेख्न बाध्य बनाउँछन्,’ डा. तिवारीले दुखेको पोखे। 

मेडिसिन वार्डको लागि ओपिडी टिकट कटाएका बिरामीमध्ये आधा फिर्ता गइसकेको तिवारीको भनाइ छ।  ‘उपचार नपाएका बिरामीमध्ये केहीले डाक्टरलाई अभद्र व्यवहार गरेका थिए,’ उनले भने। नारायणी अस्पतालले कोरोनाका कारण विरामीका लागि कोठा थप्ने तयारी भइरहेको बताएको छ। 

‘मानिसमा अहिले कोरोना भाईरस त्रास छाएको छ। यसलाई बुझाउन जरुरी छ,’ अस्पतालका मेसु डा. मदन उपध्यायको भनाइ छ। संसारभरी त्राहिमाम भएको बेला गाउँका सोझा–साझा जनतामा त्रासको भावना आउनु जायज भएको मेसु उपाध्याय बताउँछन्। आफनो ‘जनशक्ति र स्रोत साधनलाई ध्यानमा राखेर हामीले अस्पतालको महेन्द्र आरोग्य भवनमा आईसुलेशन वार्ड बनाइसकेका छौं। सो वार्डमा शौचालय नभएकोले शौचालय बनाउने कार्यपनि सुरु भएको छ,’ उनले बताए।

प्रकाशित मिति: : 2020-03-19 06:50:39

प्रतिकृया दिनुहोस्