न्युयोर्कबासीलाई १४ दिन सेल्फ क्वारिन्टिनमा पठाउने ह्वाइट हाउस योजना

बिएल संवाददाता

वासिङ्टन डीसी, अमेरिका

अमेरिकाको न्युयोर्क सहरका हरेक मानिस १४ दिन सेल्फ क्वारिन्टिनमा जानुपर्ने भएको छ। 

ह्वाइट हाउसमा भर्खरै सकिएको प्रेस व्रिफिङमा कोरोना भाइरस कार्यदल यो निर्णयमा पुगेको कार्यदलकी एक सदस्य डा. डेब्रा ब्रिक्सले बताइन्। 

उनले अमेरिकामा पछिल्लो समय परीक्षण गरिएका नयाँ केसमध्ये ६० प्रतिशत न्युयोर्क सहरबाट आएको बताउँदै ती केसमध्ये ३१ प्रतिशतमा संक्रमण पाइएको बताइन्। यो तथ्य ज्यादै गम्भीर भएको बताउँदै उनले भनिन्, ' न्युयोर्क सहरका मानिसलाई कम्तीमा पनि १४ दिन पुगेर कोरोना भाइरस नेगेटिभ देखिएपछि मात्र अन्यत्र जान दिने सोचाइ भैरहेको छ। यसो नगर्दा अन्य ठाउँमा पनि कोरोना सर्ने सम्भावना हुन्छ। र, यो रोगबाट अमेरिकाले छुट्कारा पाउँदैन।'

प्रेस व्रिफिङमा राष्ट्रपति ट्रम्पले अमेरिकी सेयर बजारमा तेजी आएकोमा खुशी व्यक्त गर्दै अमेरिका छिटै यथाअवस्थामा फर्कने बताए । उनले डेमोक्रेट र रिपब्लिकनहरू चाँडै नै सहमतिमा पुगेर राहत विधेयक पारित गर्ने अपेक्षा पनि व्यक्त गरे। 

अमेरिकामा कोरोना भाइरस संक्रमणको इपिसेन्टर बनेको न्युयोर्क सहका हरेक मानिसले १४ दिनसम्म सेल्फ क्वारिन्टिनमा बस्नैपर्ने संकेत मिलेको छ। ह्वाइट हाउसमा मंगलबार साँझ गरिएको प्रेस व्रिफिङमा यस्तो खुलासा गरिएको हो । नयाँ केसमध्ये ६० प्रतिशत न्युयोर्क सहरबाट आएको अवस्थामा यस्तो अप्रिय निर्णय गर्नुको विकल्प नरहेको बताइएको छ।

उपराष्ट्रपति माइक पेन्सले कोरोना कहरलाई कम गर्न १५ दिन आइसोलेसनमा बसेर अमेरिकालाई सघाउन अनुरोध गरे। उनले भने, यदि हामीले १५ दिन अमेरिकालाई सघायौ भने हामी कोरोना भाइरसलाई कम गर्नेछौैं।'

धेरै अमेरिकी तुरून्तै अमेरिकालाई कम्तिमा पनि १५ दिन लक डाउन गर्नुपर्ने पक्षमा देखिएका छन्। राष्ट्रपति ट्रम्पकै कोरोना भाइरस कार्यदलमा रहेका डा. फाउची, डा. ब्रिक्स पनि यही सल्लाह दिइरहेका छन्। तर, राष्ट्रपति ट्रम्प भने इस्टरसम्म पर्ख र हेरको स्थितिमा छन्।  

अहिले अमेरिकाका १३ राज्य र १६ सहरले लकडाउन घोषणा गरेर कम्तीमा ४१ प्रतिशत अमेरिकीलाई घरमै बस्न बाध्य बनाएका छन्।

 

प्रकाशित मिति: : 2020-03-25 17:59:42

प्रतिकृया दिनुहोस्