के हो हन्टा भाइरस ?, कसरी बच्ने?

सुदीक्षा खड्का

काठमाडाै‌ं

कोरोना भाइरसले विश्वमा महामारी फैलाइरहेको अवस्थामा चीनमा नयाँ प्रकोप हन्टा भाइरस देखएिको छ। यो भाइरसबाट एक चिनियाँ मजदुरको मृत्यु भएपछि सारा विश्वनै त्रासमा रहेका छन्।

चीनको युन्नान शहरमा मृत्यु भएका एक व्यक्तिलाई परीक्षण गर्दा हन्टा भाइरसले नै ज्यान गुमाएको रिपोर्टले देखायाे। यो भाइरस भने मुसाबाट मानिसमा सर्ने वैज्ञानिकहरुले जनाएका छन्। हन्टा भाइरसबाट मृत्यु भएकाे खबरले मानिसहरुमा व्यापक चिन्ताको बिषय भनेकाे छ।

तर भाइरस वैज्ञानिकका अनुसार कोरोना महामारीको बीचमा हान्टा भाइरस फैलने सम्भावना एकदमै कम रहेको छ। हन्टा भाइरस कोरोनाभन्दा फरक रहेको छ। यो मुख्यतया श्वासप्रणालीको माध्यमबाट प्रसारित हुँदैन, तर बिरामीलाई मलमूत्र र रगतबाट संक्रमक हुन सक्छ। यो भाइरसको पनि कुनै पनि औषधी नभएको बताइन्छ।

कोरोनाको प्रकोप चीनबाट प्रारम्भ भएको थियो र बिस्तारै–बिस्तारै यसले सम्पूर्ण विश्वलाई नै आफ्नो चपेटामा लिएको छ। यसैगरी हन्टाको प्रकोप पनि चीनबाट नै प्रारम्भ भएको छ। यही कारणले गर्दा यो भाइरसप्रति सम्पूर्ण विश्व नै डराएको वैज्ञानिकहरु बताउछन् ।

परीक्षण गर्दै वैज्ञानिक

चिनियाँ मजदुर टियान सोमबार कामको लागि कम्पनीको बस चढेर कार्यस्थानतर्फ जाँदै थिए। उनी चढेको बसमा थप २९ जना सवार थिए। तर अचानक उनीकाे स्वास्थ्य अवस्था बिग्रियाे। त्यहाँबाट उनलाई तुरुन्तै एक स्थानिय निन्सन काउन्टीको अस्पताल लगियाे।

उपचारको क्रममा सोमबार बिहान उनको मुत्यु भयो। उपचारमा संलग्न चिकित्सकहरुले उनको मृत्युको कारण खुलाएर भन्न चाहेनन्। यति भनियो कि, ‘यो मृत्यु हान्टा भाइरसबाट भएको हो।’ यो भाइरसको विषयमा चिकित्सकहरुले अहिलेसम्म खुलेर केही पनि बताएका छैनन्। यो बिरामी अर्थात भाइरस मुसाबाट फैलिने जानकारी मात्रै दिएका छन्।

बुधबार निन्सन काउन्टी सरकारले उनीसँगै बसमा आउदै गरेका २९ जनाको परीक्षण गर्दा कोरोना भाइरसको नतिजा ‘नेकेटिभ’ देखायाे भने हन्टा भाइरसको नतिजा भने आउन बाकि नै छ।

बुधबार ग्लोबल टाइम्सलाई दिइएको एक अन्तर्वार्तामा वुहान युनिभर्सिटीका रोग तथा भाइरस वैज्ञानिक यांग ज्हंकिउले मानिसहरुमा एकैसाथ कोरोना र हन्टाभाइरसले हाबी गर्न नसक्ने बताए। उनका अनुसार बिरामीसँगै बसमा आएका यात्रुहरु यो भाइरसबाट संक्रमित हुन सक्दैनन्। 

हन्टा भाइरसलाई महामारी हेमोरिजिक ज्वरोको रूपमा पनि चिनिन्छ र यो एक गहन भाइरल संक्रामक रोग हो। मुख्य रूपले ज्वरो, रक्तस्राव गर्ने प्रवृत्ति, र मृगौलाको क्षतिको लक्षण देखाउछ। यो रोग मुसासँग सम्पर्कको कारण र तिनीहरूले छोएको खाना खाए वा मुसाको मलद्वारा दूषित हावामा सास फेर्दा हुन सक्ने उनको भनाइ छ। यांगका अनुसार यो रोग बिषेश गरेर गाउतिर व्याप्त छ।

यांगले भने,‘हान्टा भाइरसको बारेमा चिन्ता लिनु आवश्यक छैन। यो नियन्त्रणयोग्य छ र यसको रोकथामका लागि खोपहरू पनि छन्।’ शहरहरूमा यसको प्रकोप धेरै कम भएको उनी बताउछन्।  मुख्यतया: ग्रामीण क्षेत्रमा मुसा धेरै पाइने हुँदा यो रोग शहरमा नदेखिएको उनले दाबी गरेका छन्।

यो रोग युरियासियामा व्याप्त छ र रसिया, फिनल्याण्ड, स्विडेन र चीनमा संक्रमण भएका धेरै घटनाहरू छन्। चीनमा हन्टा भाइरस संक्रमणबाट हुनेहरुकाे मृत्यु दर १ प्रतिशत र १० प्रतिशतको बीचमा छ भने अमेरिकामा मृत्यु दर लगभग ४० प्रतिशतको औसतमा छ।

एक समाचारसाइटको रिपोर्टको अनुसार पछिल्ला वर्षमा दक्षिण पश्चिम चीनको युन्नान सहरमा १२ सय ३१ बिरामीमा हन्टा भाइरसकाे लक्षण देखिएकाे थियाे। समाचारमा उल्लेख भएअनुसार प्रत्योक वर्ष २०० भन्दा बढी केशहरू योसँग सम्बन्धित आउने गर्छन्। 

हन्टा भाइरसबाट बच्ने तरिका

याे भाइरसबाट बच्नकाे लागि पहिला त मुसाहरुको संख्या नै कम गर्नु पर्छ। घरमा मुसाहरुको आवागमनलाई रोक्नु पर्छ अथवा बन्द गर्नु पर्छ, ताकि कुनै पनि व्यक्ति मुसाको मल, मुत्र अथवा र्‍यालको सम्पर्कमा आउन नसकूनँ। मुसाको प्वाल छ भने त्यसलाई बन्द गर्नुपर्छ।

यो भाइरस पनि प्लास्टिक अथवा धातुमा लामो समयसम्म जीवित रहन्छ। त्यसैले त्यस्ता सामग्रीहरुको प्रयोगबाट बच्नु पर्छ र फोहोर थुपार्न तथा पानी जम्मा गर्नबाट बच्नुपर्छ।

घरमा काठ अथवा कबाडीका सामानहरु जम्मा गर्नु हुँदैन, किनभने मुसाले त्यस्ता फोहोरी ठाउँमा प्वाल बनँएर त्यहाँ घुस्न सक्छ।

यदि तपाईको घरमा अथवा आसपास कुनै मुसा मरेको छ भने पञ्जा लगाएर त्यो स्थानलाई सफा गर्नुपर्छ र पछि त्यो पञ्जालाई पनि फ्याँकेर हातलाई तातो पानीले २० सेकेण्डभन्दा बढी समय लगाएर एन्टिसेप्टिक साबुनले सफा गर्नुपर्छ।

घरको वरिपरिका नाली तथा पानी बग्ने स्रोतलाई राम्ररी छोप्नु पर्छ र डीडीटी पाउडर छर्किरहनु पर्छ।

एजेन्सीको सहयोगमा

प्रकाशित मिति: : 2020-03-28 05:51:56

प्रतिकृया दिनुहोस्