वीरगञ्जमा भारतीय नागरिक राेकिए, दशगजा तनावग्रस्त [भिडियाे]

काेराेना भाइरस संक्रमणका कारण नेपाल–भारत नाकामा अलपत्र परेका नेपालीहरुकाे समाचार आउने क्रम जारी छ। तर, वीरगञ्जकाे नाकामा याे दृश्य विपरित अर्काे घटना देखिएकाे छ। भारतसँग सीमा जाेडिएकाे दशगजामा नेपालबाट आफ्नाे देश फर्किन भारतीय नागरिकहरु संघर्ष गरिरहेका छन्। उनीहरुले आफ्नाे देशमा प्रवेश गर्न नपाएकाे रिसमा भारतीय सरकारविरुद्ध नाराबाजी गरेका छन्।

अलपत्र परेका भारतीयका कारण साेमबार बिहानदेखि दशगजा क्षेत्र तनावग्रस्त छ।काेराेना भाइरसका कारण नेपाल सरकारले थप अर्काे साताका लागि ‘लकडाउन’ गर्ने निर्णय गरेपछि नेपालमा राेजगारी गरेर बसेका भारतीयहरु बेराेजगार भएका छन्। र, उनीहरु घर फर्किने क्रममा सीमा बन्द भएका कारण दशगजा क्षेत्रमा बिचल्लीमा परेका छन्। भारतले गत साता नै २१ दिनका लागि ‘लकडाउन’ घाेषणा गरिसकेकाे छ। 

नेपालकाे मुख्य नाका भारतसँग जोडिएको शंकराचार्य गेट अगाडी मितेरी पुलको छेउ दशगजा क्षेत्रमा सयौंको संख्यामा भारतीय नागरिक अलपत्र परेका छन् । उनीहरु खानपिन तथा बस्ने व्यवस्था नहुँदा थप समस्यामा परेका छन्।

भारतीय सुरक्षाकर्मीले आफ्ना नागरिकलाई प्रवेश नदिँदा स–साना बालबालिकाकाे अवस्था थप कठिन बनेकाे छ। चर्को घामका कारण केही पुर्छित पनि परेका छन्। विश्वभरि फैलिएकाे कोरोना भाइरसकाे संक्रमणका कारण नेपालकाे प्राय सबै उद्याेग बन्द छ। यस्ताे अवस्थामा उनीहरु देशकाे विभिन्न ठाउँबाट सवारी साधनको माध्यमबाट वीरगञ्ज आइपुगेका हुन्। यहाँ राजधानी काठमाडाैंदेखि  आएका भारतीय पनि छन्।

‘यहाँ भएका केही भारतीय दैनिक आपूर्ति लगायत औद्योगिक कच्चा पदार्थ बोकेर भित्रिएका मालबाहक ट्रकका चालक तथा सहचालक पनि छन्। सीमा क्षेत्रमा सयौंको सख्यामा भारतीय नागरिक अलपत्र परेका छन्,’ स्थानीय एक नेपालीले बिएल नेपाली सेवालाई बताए। 

‘लकडाउन’ को अवस्थामा लुकिछिपी सीमा पुगेका भारतीय नागरिकलाई देश प्रवेश गर्न खोज्दा भारतीय सुरक्षाकर्मीले रोकेपछि आईतबार रातिदेखी अलपत्र परेकाे उनीहरुले सुनाए। कमाईं बन्द भएपछि आफ्नो गाउँ ठाउँमा सुरक्षित तरीकाले बस्न सकिन्छ भनी उनीहरु सीमामा पुगेका हुन्।

नेपालमा सञ्चारमाध्यमले नागरिककाे विषयमा साेधखाेज गरिरहेकाे बेला यी भारतीयकाे लागि भारतीय मिडियाले पनि खासै चासाे देखाएकाे देखिदैन। ‘संचारमाध्यमले समेत हाम्राे अवस्था बुझ्न नआउँदा सरकारसम्म हाम्राे कुरा पुग्न सकिरहेकाे छैन,’ घर फर्किने आशामा बसेका एक भारतीयले भने। 

सीमा नाकामा भारतीय नागरिककाे अवस्था दयनिय बनेकाे खबर सुनेपछि वीरगञ्जका एक जुस उद्योगका प्रतिनिधि दिउँसो पानीको व्यवस्था गर्न पुगेका थिए। नेपाली सेनाको टोली उनीहरुको अवस्था बुझ्न गएको थियाे। उनीहरु नेपाल प्रहरी तथा नेपाली सञ्चारकर्मी प्रति आभार व्यक्त गर्छन्।भारत सरकार तथा सुरक्षाकर्मीले आफूलाई उपेक्षा गरेको भन्दै उनीहरु आक्रोश भएका छन् ।

प्रकाशित मिति: : 2020-03-30 18:44:38

प्रतिकृया दिनुहोस्