फ्रान्सको मेडिकल इतिहासकै खराब दिन, एकै दिन अस्पतालमा ४ सय ९९ को निधन

इटाली र स्पेनपछि फ्रान्सको अवस्थामा पनि गम्भीर बन्न थालेको छ। फ्रान्समा मंगलबार एकै दिन कोरोना भाइरसको संक्रमणका कारण ४ सय ९९ जनाले अस्पतालमा ज्यान गुमाएका छन्। यसमा घरमा बसेर स्वास्थ्य लाभ गरिएका व्यक्तिलाई समावेश गरिएको छैन। त्यसैले यो संख्या अझै बढ्न सक्ने सम्भावना छ। 

फ्रान्समा एकदिनमा यो अहिलेसम्मकै उच्च मृत्युदर हो। सोमबार मात्र यहाँ ४ सय १८ जनाको निधन भएको थियो र मंगलबार ३ सय ६५ ले ज्यान गुमाएका थिए। 

यस्तै, मंगलबार थप ४ सय ५८ जनालाई ‘इन्टेन्सिभ केयर’ मा भर्ना गरिएको छ। अहिले फ्रान्सको अस्पतालमा ५ हजार ५ जना दयनीय अवस्थामा छन्। फ्रान्समा कोरोना भाइरसका कारण मर्नेको संख्या ३ हजार ५ सय २३ पुगिसकेको छ। यहाँ पूर्ण स्वास्थ्य भएर फर्किनेको संख्या ९ हजार ४ सय ४४ हो। 

मंगलबार फ्रान्सको स्वास्थ्य अवस्थाको जानकारी दिँदै स्वास्थ्य विभागका कार्यकारी निर्देशक जेरोम सालोमनले भने, ‘फ्रान्सको औषधि उपचारको इतिहासमा यो अहिलेसम्मकै खराब अवस्था हो।’

अवस्था यस्तै रहे मर्नेको संख्या इटाली र स्पेनभन्दा माथि जान सक्ने विज्ञहरूले बताएका छन्। फ्रान्सले अगाडी नै दुई साताको लकडाउन गरेपनि विस्तारै खराब बन्दै गरेको माहौलका बीच अझ थप हुने सम्भावना बढेर गएको छ। फ्रान्सका प्रधानमन्त्री इडवार्ड फिलिपले पनि यो साता देशको लागि निकै गाह्रो अवस्था रहेको बताउँदै अगामी दिन थप कस्टकर बन्ने स्विकार गरेका छन्। 
 

प्रकाशित मिति: : 2020-04-01 06:19:18

प्रतिकृया दिनुहोस्