कोरोनाले ल्याएको मानसिक महामारी

संजोग आचार्य

न्यूयोर्क

जीवन अहिले कोरोनामय भएको छ। बिहानदेखि राति सुत्ने समयमसम्म कोरोनाकै आतंक छ। किन हो, सपनामा पनि कोरोनालेनै सताउन थालेको छ। यस्तो लाग्छ कि, अहिलेसम्मको संघर्ष, त्याग, योगदान सबै कोरोनाको लागि नै गरिएको हो।

बुढी आमासँग नजिक भएर बोल्न सकेको छैन। आफन्त, साथी भाइसँग अंगालो मारेर दुःख साटासाट गर्न सक्दिनँ म। बाल्यवस्थादेखिका साथीभाइसँग भेट्न सकिरहेको छैन। जो कोहीलाई हेर्ने अहिले एउटै मेरो स्पष्ट दृष्टिकोण छ, त्यो हो कोरोना!

कोही भेट्न आयो भने आतिथ्य सत्कारको आखाँले भन्दा पनि कोरोनाको दृष्टिकोणले हेर्छु म। स्वदेशबाट आयो कि विदेशबाट पहिला त्यो खोज्छु। रगत नाताको सम्बन्ध खोज्दिनँ म। केही समय अगाडि यूरोप, अमेरिका, अष्ट्रेलियाबाट आएका आफन्त साथीभाइ मेरो पहिलो प्राथमिकतामा पर्थे। टाढाको सम्बन्ध भए पनि नाता जोडेर नजिक हुन खोज्थेँ म। अचेल नजिकको सम्बन्ध भए पनि उनीहरुसँग टाढा भाग्छु।

शहरमा कोरोना आतंक फैलिएको खबरले नै मेरो मन विक्षिप्त बनाएको छ। घरबाट बाहिर निस्कन सक्दिनँ। कोठाबाट बरण्डा त्यहाँबाट बाथरूम, भान्छा, छत यहीँ वरिपरी मेरो दैनिकी चलिरहेको छ। केही समयदेखि घरको तल र माथिनै जीवनजगत घुमिरहेको छ। त्यसको एउटा पात्र म पनि हुँ। मलाई त्यो राम्ररी थाहा छ।

घरमा पनि अहिले पराईजस्तै हुनुपर्ने अवस्था छ। खुलेर ‘ब्लेस यू’ पाउने हाछ्यु.. गर्न सक्दिनँ । घाँटी खसखस गर्छ, डरनै लाग्छ। अझ खोक्ने त कुरै भएन। ज्वरो आयो भने पनि कोरोना नै भयो भन्ने चिन्ता। अस्पताल आउ झनै रोग सर्ला भन्ने अर्को डर। फेरि, कसैलाई भनौं त्यही ब्यक्ति बाटै कोरोना सर्ला कि भन्ने डर। उफ !  यो कोरोनाको महामारी भन्दा मानसिक पीडा पो धेरै छ अहिले मलाई। 

दिनमा कत्ति पटक हात धुनु, त्यो पनि यकिन गर्न सकिरहेको छैन । मास्कले मुख थुन्दा थुन्दा सासनै फेर्न असहज महसुस हुन थालिसकेको छ। खुला हावामा कहिले हिँड्ने म। जागिरमा जाउँ काम छैन। पैसा आउने ठाउँ छैन। पैसा नै भए पनि मनपरेको स्थानमा गएर खाना खान सक्ने अबस्था छैन।

हैन, कस्तो रोग हो यो? कतै छुन पनि नहुने। कतै जान पनि नहुने। परिवारसँग पनि दुरी राख्नुपर्ने। कोहीसँग भेट गर्न पनि नहुने। कोरोनाको पीडा भन्दा पनि यो पिडाले पो सताउन थालेको छ अचेल मलाई।

समाचार सुनेको भरमा दिनमा तीन चारपटक तातो पानी खान्छु। अदुवा, लसुन, प्याज, बेसार पानी खान छोडेको छैन। भीडभाडमा पनि गएको छैन। दुई सातादेखि घरको कोठमै बन्द छु। घर बस्दा पनि मास्क लगाइरहन्छु। दिनमा दुई दर्जन पटक साबुन पानीले हात धुन्छु। साथिभाईको लागि घरमा नो इन्ट्री नै छ। आमा, भाई, श्रीमतीसँग पनि दुरी कायम राखेर खान पिन, उठबस हुन्छ।

टिभी, इन्टरनेट समाचार खोल्यो त्यही कोरोनाको कुरा मात्र छ। फोन गर्‍यो घण्टी पनि कोरोनाकै आउँछ। शारीरिक रुपमा त म पूर्ण स्वस्थ छु। तर, मानसिक रुपले विक्षिप्त महसुस गरिरहेको हुन्छु। कुनै रोग नभएर पनि आफूलाई रोगी छु कि जस्तो लाग्छ। अनि फेरि एकछिन पछि त्यही अध्यारो एकान्त कोठामा जान्छु र सोच्छु -कोरोनाको महामारी भन्दा यसले निम्त्याउने मानसीक महामारी पो ठूलो होला जस्तो छ।

प्रकाशित मिति: : 2020-04-01 09:09:24

प्रतिकृया दिनुहोस्