ट्युबमा महाकाली तरेर आएका संक्रमितलाई परिवारले आँगनबाट पठाइदिएका थिए क्वारेन्टाइनमा

सेतोपाटी

काठमाडाै‌ं

महाकाली नदीमा हेलिएर नेपाल छिरेका कञ्चनपुर बेदकोट नगरपालिका वडा नम्बर ९ का ४१ वर्षीय एक पुरूषमा कोरोनाभाइरस संक्रमण देखिएको छ।

गत चैत १३ गते भारतको उत्तराखण्ड राज्यको चम्पावत जिल्लाबाट घर हिँडेका ती ४१ वर्षीय पुरुषसहित १४ जनाको समूह १४ गते महाकाली तरेर नेपाल प्रवेश गरेका थिए।

सडक निर्माणको काम गर्ने भन्दै उनीहरू गत चैत २ गते चम्पावत जिल्ला पुगेका थिए। कोरोनाले नेपाल र भारतमा लकडाउन भएपछि उनीहरू घर फर्किएका हुन्।

सीमा नाका बन्द भएपछि अनधिकृत रूपले ट्युबबाट महाकाली नदी तरेका उनीहरूलाई सशस्त्र प्रहरीले फेला पारेर बेदकोट नगरपालिका वडा नम्बर ९ स्थित उनीहरूको गाउँसम्म छाडिदिएको थियो।

‘भारतको टनकपुर र नेपालको भीमदत्त नगरपालिका वडा नम्बर ९ स्थित बह्मदेव भन्ने ठाउँबाट ११ जना ट्युबको सहारामा महाकाली तरेर नेपाल प्रवेश गरेका रहेछन्,’ बेदकोटका मेयर अशोककुमार चन्दले सेतोपाटीसँग भने, ‘उनीहरूलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएर गाउँमा छाडिदिएको थियो।’

प्रकाशित मिति: : 2020-04-04 22:35:28

प्रतिकृया दिनुहोस्