फिफा वरीयता टसमस भएन, नेपाल १७०औं स्थानमा यथावत

बिएल संवाददाता

काठमाडाै‌ं


विश्व फुटबलको सर्वोच्च निकाय फिफाले जारी गरेको पछिल्लो वरीयतामा एक टिम बाहेक केही परिवर्तन भएको छैन । नेपालको पुरुष फुटबल टिम पनि फिफाको वरीयतामा यथावत रहेको छ ।

विश्वभर कोरोना भाइरसको महामारी कायम रहेकोले त्यसको असर वरीयतामा परेको हो।


फेब्रुअरीपछि जारी वरीयतामा नेपाल १७०औं स्थानमै यथावत रहेको छ। फिफाले मासिक रुपमा वरीयता जारी गर्दै आएपछि २०१९ डिसेम्बर यता भने दुई महिना फरकमा वरीयता सार्वजनिक गरेको हो ।

बिहीबार सार्वजनिक वरीयतामा दक्षिण एसियामा नेपाल तेस्रो स्थानमा छ । भारत र माल्दिभ्स नेपालभन्दा अघि छन् भने बंगलादेश, भुटान पाकिस्तान र श्रीलंका नेपाल भन्दा पछि छन् । भारत १०८औं र माल्दिभ्स १५५औं स्थानमा यथावत छ । यस्तै बंगालदेश १८७औं, भुटान १८९औं, पाकिस्तान २००औं र श्रीलंका २०६औं स्थानमा छ ।

यता साउथ सुडान बर्मुडा भन्दा अगाडि पुगेको छ । तर दुवैको समान अंक रहेकोले बर्मुडा तल झरेको छैन । साउथ सुडान र बर्मुडा दुवै १६८औं स्थानमा संयुक्त रुपमा छन् ।

विश्व वरीयतामा भने युरोपियन राष्ट्र बेल्जियम शीर्ष स्थानमा यथावत छ । शीर्ष १० मा पनि कुनै फेरबदल छैन ।

फ्रान्स दोस्रो, ब्राजिल तेस्रो, इंग्ल्याण्ड चौथो र उरुग्वे पाँचौ स्थानमा यथावत छ । यस्तै क्रोएसिया छैटौँ, पोर्चुगल सातौं, स्पेन आठौं, अर्जेन्टिना नवौं र कोलोम्बिया दशौं स्थानमा यथावत छन् ।
 

प्रकाशित मिति: : 2020-04-09 16:34:22

प्रतिकृया दिनुहोस्