बेलायतमा २४ घण्टामा ५ नेपालीको निधन, नेपाली समुदाय जोखिममा

बेलायतमा कोरोना भाइरसको संक्रमणका कारण मर्नेको संख्या बढ्न थालेपछि यसको असर नेपाली समाजमा पनि पर्न थालेको छ। पछिल्लो दुई दिनमा बेलायतमा ५ नेपालीको निधन भएको छ। बिहीबार थप दुई  नेपालीको निधन भएपछि बेलायतमा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ७ पुगेको छ। 

बुधबार तीन नेपालीले ज्यान गुमाएका थिए। बिहीबार थप २ को ज्यान गएको हो। तीन साताअघि लन्डनको ह्यारोमा बसोबास गर्दै आइरहेका ६५ वर्षीय भूपू गोर्खा सैनिक लिलाबहादुर राईको कोरोना भाइरसको निधन भएको थियो। त्यसको एक सातापछि दक्षिणी लन्डनमा बसोबास गर्ने ४० वर्षीय प्रशान्त अर्यालले ज्यान गुमाएका थिए। 

यसै बुधबार भूपू र्गार्खा सैनिक ५९ वर्षीय चेतप्रसाद गुरुङ, शिव श्रेष्ठ र मेघबहादुर गुरुङको निधन भएको थियो। बुधबार गम्भीर हालतमा उपचार गराइरहेका केदार पन्त र एक जना नाम नखुलाइएका नेपालीको बिहीबार निधन भएको हो। कोरोना भाइरसका कारण हाल बेलायतमा ७ हजार ९ सय ७८ जनाको निधन भइसकेको छ भने ६५ हजार ७७ संक्रमित देखिएका छन्। 

बेलायतमा हाल एक लाखभन्दा बढी नेपाली बसाेबास गर्दै आइरहेका छन्, जसमा २० हजार भूपू गाेर्खा रहेकाे गेसाेका अध्यक्ष कृष्णकुमार राईले बिएल नेपाली सेवालाई जानकारी दिए। उनले नेपाली समूदायमा देखिन थालेकाे काेराेनाकाे प्रभावलाई कम गर्न सबैले ‘सेल्फ क्वारेन्टाइन’ काे नियमलाई कडाईंका साथ अनुसरण गर्न अपील गरे। 

‘भूपू सैनिकहरु जाेखिममा देखिदै छन्। म सबै नेपालीलाई आग्रह गर्न चाहन्छु सुरक्षित बस्नुहाेला’, राईले भने।
 

प्रकाशित मिति: : 2020-04-10 10:28:24

प्रतिकृया दिनुहोस्