पशुपंक्षीका भान्छे !

हिन्दुहरुकाे आराध्यदेव पशुपतिनाथ मन्दिरको पारिपट्टिको श्लेषमान्तक वनको मुनि बागमती किनारमा बिहान झिसमिसे एक हुल बादर लस्करै हिँडेको देखिन्छन्। मृगस्थलीको त्यो ठाँडो ओरालोमा शारीरिक ब्यायाम गर्ने मानिसको उतिकै चहलपहल देखिन्छ। उत्तरी मोहडाको बाटो हुँदै सैयौकाे संख्यामा बादरको समुह तिलगंगाको बाटोबाट घाटसम्म आइपुग्दा मान्छे हिँड्ने बाटोसम्म हुँदैन।

यिनीहरुसँगै अर्को २०–२५ वटा साढे (नन्दी) को हुल पनि मिसिन्छ। मानिस जस्तै यिनलाई पनि बिहानै खाना खानुपर्छ। त्यसैले खाना पाक्ने ठाउँमा आफै आउँछन् र अघाएपछि आ–आफ्नो बाटो लाग्छन्। यहाँका पशुपंक्षी र बादर आउनुभन्दा पहिले नै एक जना भान्से गणेशप्रसाद मैनाली आइसकेका हुन्छन्। काभ्रेस्थित तिमाल गाउँका ४० वर्षीय मैनाली हाल मुलपानीमा बस्छन्। 

उनले बादर लगायत नन्दी र पशुपंक्षीका लागि भान्सेकाे काम गरेको नै ११ वर्ष बितिसकेकाे रहेछ। हरेक दिन बादरको लागि दिनमा २ सय केजी पिठोको पानी–रोटी पकाउँछन्। यिनका अनुसार पाशुपत क्षेत्रमा लगभग ३ हजार जति बादर छन्। मैनाली बादरको लागि खाना बनाउन करिव ५ घण्टा लाग्ने बताउँछन्। 

‘१० बजेबाट पानी–रोटी पकाउन सुरु गरेकाे ३ बज्याे,’ उनले भने। यति धेरै खाना पकाउने काम एक जनाको लागि गाह्रो मात्र हाेइन चुनाैतिपूर्ण पनि छ। ‘कहिले काहीँ सेवा भावले यहाँ आइपुग्नेले पकाउन मद्धत गर्छन,’ उनले भने। बोराबाट पिठो निकालेर मेसिनमा राखेर बेल्नु अनि चक्कुले काटेर तातो पानीमा हालेर पकाउनु उनको दैनिकी नै हो।

मैनाली भन्छन्–‘ सहयोग गर्ने मान्छे आए भने ४ घन्टामै पनि काम सकिन्छ। आज बनाएको खाना हरेक बिहान ६ बजे बादरलाई खुवाउनु पर्छ।’ लामो समयदेखि यसरी बादरको आहाराको व्यवस्था गर्न धन मात्र हाेइन, मन पनि चाहिन्छ।

पशुपतिमा चहार्ने यति धेरै पशुपंक्षीकाे आहारा आखिर कसले जुटाउँछ? पशुपति विकाश काेषले–सायद सबैकाे उत्तर याे हुन सक्छ। तर हाेइन। यसका लागि उनलाई एक जना मनकारी समाजसेवीले सहयाेग गर्दै आएका छन्। ती व्यक्ति हुन्–चर्चित व्यवसायी पवन संघाई। वास्तवमा यो काम त्यति सजिलो छैन। दैनिक हजारौ रुपैयाँ खर्च हुन्छ। 

पशुपंक्षीको लागि खर्च गर्ने संघाई परिवारले यो कामकाे थालनी भर्खरै गरेका हाेइनन्। ४० वर्षअगाडी नै पवन संघाईका बुवाले यसकाे सुरुवात गरेकाे मैनाली बताउँछन्। ‘उहाँकाे बुवा पशुपतिनाथकाे दर्शन गर्न आउँदा बादरलाई कसैले केरा, कसैले बिस्कुट दिएको देख्दा बादरको पेट नभरिने लागेपछि बादरको मुख्य आहारा पानी–रोटी भएको थाहा पाएर मानव सेवा मात्रै नभएर जनावर, पशुपंक्षी सबैको लागि आहारा दिने काम थाल्नु भएको हाे,’ उनले भने।

मैनालीले त्यति मात्रै नभएर तपाई हामीले देख्ने गरेको पशुपतिको साढे अथवा नन्दीको लागि पनि गहुँको छुट्टै खोले बनाउने गरेका छन्। बिहानपख पशुपतिको श्लेषमान्तक वनबाट आउने पहिलो घामको झुल्कोसँगै बादर र २०–२५ वटा नन्दीको बथान आफै यहाँ खोले खान आइपुग्छन्।

मैनाली भन्छन् ‘घाम, झरी, हावाहुरी जे सुकै होस्। म हरेक दिन बिहानै यहाँ आइपुग्नु पर्छ।’  उनले पशुपंक्षीको आहारा बनाउँदा छुट्टै आनन्द आउने बताए। अहिलेकाे समय ‘लकडाउन’को छ तर उनकाे लागि कुनै छुट्टी छैन। उनी यसैमा रमाएका छन्। भन्छन्–‘करिव ५ घण्टा यिनैको लागि खाना बनाउन समय लाग्छ। काम गर्न त्यति सजिलाे छैन। तर मलाई पनि मनमा आनन्द आउँछ।’ बन्दको समय मुलपानीबाट दैनिक हिँडेर खाना बनाउन यहाँ आइपुग्ने मैनाली फर्केर जाँदा कहिले काही पशुपति बिकाश कोषले गाडी उपलब्ध गराउने गरेका बताउँछन्। 

उनी ‘लकडाउन’ मा बिहान ४ बजे उठेर नित्यक्रम सकिएपछि पशुपतितर्फ लाग्छन्। ‘म यहाँ पुगिन भने बादरलाई कसले खाना दिन्छ।शनिबार वा आइतबार कुनै बारले मलाइ छेक्दैन। कुनै दिन बिरामी भएर आउन पाइन भने केही हराए झैं लाग्छ। मन चञ्चल भइरहन्छ। छटपटी हुन्छ,’ उनले भने। 

मैनालीकाे अहिले वास्तवविक साथी भनेकाे नै पशुपतिका बादर, साढे र परेवा भएका छन्। भन्छन्,‘पशुपंक्षीलाई खाना खुवाउनु मानव धर्म हो। मान्छे त भोक लागेपछि आमाबुवालाई भन्छ। तर यिनले बोल्न सक्दैनन्। त्यसैले यिनको बानी व्यवहारबाटै मैले सबै कुरा बुझ्न सक्ने भएकाे छु।’

मैनालीको आफ्नै जीवनको कथा कम दु:खान्त छैन। एउटा छोरी र छोराका बुवा उनकाे डेढ वर्षअगाडी श्रीमतीको निधन भयो।घरपरिवार राम्रैसँग चलेको थियो तर अकस्मात धर्मपत्नीको निधनले केहि समय आहत भएका उनी छाेराछाेरीदेखि पशुपतिका पशुपंक्षीलाई एकसाथ हेरविचार गरिरहेका छन्।

बिहान घरबाट ४ बजे हिँड्ने उनको समय तालिका पनि गजबको छ। साढे ६ मा यहाँ खाना पकाएर भोलि बिहानीको लागि तयारी गर्छन् र बेलुका ४ बजे घर फर्किन्छन्। ‘लकडाउन’ को समयमा मान्छेले राम्रोसँग खान नपाएर पैदल गाउँ फर्किरहेकाे बेला यसरी पशुपंक्षीकै लागि भनेर दैनिक खटिएकाले होला भन्छन्– यहाँका कुनै जनावर भोकले दु:खी छैनन्।

कतिपय मान्छेले भोकले पशुपतिका बादर मरेका छन् भन्ने सुन्दा उनलाई अचम्म लाग्छ। ‘म दिनहुँ उनीहरुसँग हुन्छु। यि सबै हावा गफ हुन्,’ उनले भने। पशुपतिका अधिकांश बादरले उनलाई चिन्छन्। त्यसैले उनले बादरकाे गाला चिमाेट्दासमेत केही गर्दैनन्। अनि कतै हिँडेको देख्दा बोलायो भने उनी भएको ठाउँ आएर लुटपुटिन्छन्। तर बाहिरको मान्छेले जिस्क्यायो भने झम्टिन खाेज्छन्।

उनी जनावरलाई पनि मायाकाे खाँचाे पर्ने बताउँछन्। उनी जबसम्म शरीरले सक्छ तबसम्म पशुपंक्षीको सेवा गरिरहने बताउँछन्। लामो समयदेखि पशुपंक्षीलाई खाना पकाएर दिने मैनालीले बरु मान्छेको मनको कुरा बुझ्न सकेका छैनन् तर उनी पशुपंक्षीको मनको कुरा सजिलै बुझ्छन्। 

बाटोमा हिँड्दा बादर कराउँछन्। उनलाई बोलाउँछन्। जिस्किन्छन्। भोक लागेको बेला भोक लाग्यो भनेर कराउँछन्। खाना दिएपछि खुसी भएर फर्किएर जान्छन्। मानिसबाट नपाएको माया उनले यही पशुपंक्षीबाट पाएका छन्। यसमा उनलाई निकै आत्मसन्तुष्टी छ। भन्छन्,‘संसारमा यदि खुशी भएको देख्नु छ भने आफूले सक्ने सानो सेवा मात्र गर्नु। ठूलो गर्नु पर्दैन। त्यसैमा संसार खुला देखिन थाल्छ। आफू पनि रमाउन सकिन्छ।’ 

प्रकाशित मिति: : 2020-04-22 13:31:00

प्रतिकृया दिनुहोस्