विश्व फुटबल महासङ्घ (फिफा) अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लाई पाँच लाख डलर दिने भएकाे छ।
फिफाले हरेक सदस्य राष्ट्रमा कोरोनाका कारण फुटबल गतिविधि नभएको अवस्थामा आर्थिक रुपमा ठूलो नोक्सानी भएको भन्दै आफ्ना एसोसिएट राष्ट्रलाई दिँदै आएको सहयोग अनुसार यो पटक पाँच लाख डलर दिने घाेषणा गरेकाे हाे।
त्यही अनुसार एन्फाले अहिले पाँच लाख डलर पाउने भएकाे हाे।
यो रकम छुट्टै शीर्षकमा भन्दा पनि नियमित बजेटमा आउने जनाइएकाे छ। यसका लागि फिफाले स्थापना गरेको कोषबाट झण्डै १५ करोड डलर खर्च गर्ने भएको छ। जसमा सदस्यलाई बराबर रुपमा रकम पठाउने भएको छ।
फिफाले शनिबार (आज) साँझसम्म रकमका बारेमा पत्र पठाउने एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले बताए। त्यसपछि मात्र कुन शीर्षकमा रकम आएको भन्ने थाहा हुने उनले बताए।
यो रकमबाट कर्मचारीको तलब, आर्थिक हिसाब किताब राख्नुपर्ने फिफाले जनाएकाे छ। यतिबेला विश्वमा जस्तै नेपालमा पनि कोरोनाको असर परिरहेको छ।
जसका कारण एन्फाले सबै फुटबल गतिविधि बन्द गर्नुपरेको छ। एन्फाले महिला/पुरुष ए लिग, बि लिग, सी लिग र माेफसलका लिगहरु अनिश्चित कालकाे लागि राेकेकाे छ। यस्तै एन्फाको मुख्यालय पनि बन्द रहेको छ भने अतिआवश्यक काम घरबाटै भइरहेको छ।