महाकालीपारि २ हजार बढी नेपाली, उद्धारको आदेश कुर्दै प्रशासन

एक महिनादेखि महाकालीपारि करिब दुई हजार बढी नेपाली अलपत्र परेका छन् । संघीय सरकारले यस विषयमा ठोस निर्णय नगर्दा अलपत्र नेपालीहरूको उद्धारमा ढिलाइ भएको छ ।

रुपन्देहीका नाकाबाट नेपालीहरूको उद्धार भए पनि कैलाली, कञ्चनपुर, बैतडी र दार्चुलापारि रहेका दुई हजार बढी नेपालीहरूको भने उद्धार हुन सकेको छैन ।

सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूले उद्धारको तयारी गरेका छन्। सम्बन्धित स्थानीय तहले पनि गाडीको व्यवस्थापन गर्नेदेखि अन्य तयारी गरिसकेको बताएका छन् । तर, गृह मन्त्रालयले निर्देशन नदिँदा उद्धारमा भने ढिलाइ भइरहेको छ ।

अहिले कैलाली, कञ्चनपुर, बैतडी र दार्चुलाका प्रमुख जिल्ला अधिकारीहरू गृह मन्त्रालयको निर्देशन पर्खिरहेका छन् । मन्त्रालयले निर्णय गर्न ढिलाइ गर्दा दुई हजार बढी नेपाली एक महिनादेखि सीमापारि अलपत्र परेका हुन् ।

दार्चुलापारि धार्चुलामा सबैभन्दा बढी नेपाली अलपत्र परेका छन् । हजारभन्दा बढी नेपालीहरूलाई विभिन्न ६ वटा क्वारेन्टाइनमा राखिएको छ । क्वारेन्टाइनमा बसेको महिनादिनसम्म पनि गृह मन्त्रालयबाट निर्देशन नआउदा उनीहरूलाई नेपाल ल्याउन नसकिएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिए ।

 

प्रकाशित मिति: : 2020-04-25 22:30:57

प्रतिकृया दिनुहोस्