हामीकहाँ एउटा भनाइ नै छ- नेताका छोरा नेता, डाक्टरका छोरा डाक्टर!
त्यसमाथि बाबु देशकै चिरपरिचित डाक्टर छन् भने त छोरामाथि समाज र घरपरिवारको दबाब अझ बढी हुन्छ।
चिकित्सा क्षेत्रमा चासो राख्नेहरूका लागि चक्रराज पाण्डे परिचित नाउँ हो। नेपालका यी प्रसिद्ध हाडजोर्नी डाक्टर ग्रान्डी अस्पतालका सञ्चालकसमेत हुन्। यति परिचित डाक्टरको छोरा भएपछि चिरनराज पाण्डेलाई पनि डाक्टरी पढ्नुपर्ने कम दबाब थिएन। तर, आज उनी बाबुको पेसाभन्दा फरक साहित्य र रचनात्मक लेखनमा लागेका छन्।
न्यूयोर्क विश्वविद्यालय, आबुधाबीमा छात्रवृत्ति पाएर साहित्य र रचनात्मक लेखनमा स्नातक गरिरहेका चिरनले गत महिना संसारको प्रतिष्ठित अक्सफोर्ड विश्वविद्यालयबाट एकवर्षे स्नातकोत्तर अध्ययन गर्न छात्रवृत्ति पाएका छन्।