प्रधानमन्त्रीलाई ‘एक व्यक्ति एक पद’ अमान्य, स्थायी कमिटीमा पेश गर्ने सचिवालयको प्रस्ताव मस्यौदा गर्दै प्रचण्ड

नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले  ‘एक व्यक्ति एक पद’ भन्ने मागलाई अस्वीकार गरिदिएका छन् । स्थायी समितिमा पेश गर्ने प्रस्तावको तयारीका लागि प्रधानमन्त्रीसँग सरसल्लाहका लागि गएका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई तत्काल यो संभव नहुने बताएका हुन् ।

प्रधानमन्त्री ओलीले केन्द्रीय सचिवालयका तर्फबाट पार्टी स्थायी कमिटीको बैठकमा प्रस्तुत गर्ने प्रस्तावको मस्यौदा तयार गर्न कार्यकारी अध्यक्ष ‘प्रचण्ड’ र महासचिव विष्णु पौडेललाई जिम्मा दिएका छन् । 

सामान्यतः सबै अवस्थामा महासचिवले अध्यक्षसँग परामर्श गरी मस्यौदा तयार गर्ने चलन हो । विवाद हल गर्ने प्रस्ताव भएकाले ओलीले प्रचण्डलाई नै महासचिवसँग मिलेर प्रस्ताव ल्याउन आग्रह गरेका हुन्, जुन बुधबार (बैशाख २४) अपरान्ह बस्ने पार्टी सचिवालय बैठकमा पेश हुनेछ । 

जिम्मेवारी पूरा गर्ने सिल्सिलामा प्रचण्ड सोमबार प्रधानमन्त्री भेट्न बालुवाटार पुगेका थिए । प्रधानमन्त्री ओलीले प्रष्ट शब्दमा ‘एक व्यक्ति एक पद भन्ने कुरो तत्काल लागू गर्न नसकिने भएकाले सोही बमोजिम तयार गर्न’ भनेको स्रोतले जानकारी दिएको छ । ‘एक व्यक्ति एक पद’ मा नेपालले राख्दै आएको अडान हो । 

पार्टी स्थायी कमिटी सदस्य हरिबोल गजुरेललाई पनि प्रचण्डले प्रधानमन्त्रीले ‘एक व्यक्ति एक पद’ नमानेको बताएका थिए । सोमबार प्रचण्ड भेट्न खुमलटार पुगेका गजुरेलले बिएल नेपाली सेवासँग भने, ‘प्रस्ताव प्रचण्डजीले तयार गर्ने कुरा भएको रहेछ । सचिवालयभित्रै एक व्यक्ति एक पदको कुरा पनि उठेको छ । त्यसलाई कार्यान्वयनका लागि ठोस प्रस्ताव तयार पर्ने सिल्सिलामा प्रधानमन्त्रीसँग छलफल भएको रहेछ । प्रधानमन्त्रीले तत्काल त्यो संभव नहुने बताउनुभएको रहेछ ।’

वरिष्ठ नेता नेपालले आफूसँग गरेको छलफलका विषयलाई प्रस्तावमा समेट्न पनि प्रचण्डले ओलीसँग सोमबार कुराकानी गरेका थिए । प्रचण्डले नेपालका सराेकार ओलीसमक्ष राखेको तर ओलीले एक व्यक्ति एक जिम्मेवारी विषय तत्काल कार्यान्वयन गर्न नसक्ने बताएका थिए । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ र प्रदेश ५ का मुख्यमन्त्री  श‌कर पाेखरेल  प्रदेशका पार्टी इञ्चार्ज पनि छन् ।

नेकपा स्थायी कमिटीका २० जना सदस्यले माग गरेबमोजिम २५ गते स्थायी कमिटी बैठक डाकिएको छ । पार्टीलाई एकताबद्ध बनाएर लैजाने प्रस्ताव साचिवालय बैठकबाट पारित गराएर अध्यक्षले स्थायी कमिटीमा पेश गर्ने छन् । सचिवालयका नेताहरुले स्थायी कमिटी बैठकमा प्रस्तावबारे टिप्पणी गर्न पाउने छैनन् ।

स्थायी कमिटी बैठकमा सबै सदस्यहरूले बोल्न नदिइने स्रोतले जनाएको छ ,। भोलिपल्टै संघीय संसद्को अधिवेशन आह्वा गरिसकिएकाले सकेसम्म एक दिनमै नभए पनि सकेसम्म छिटो हुने गरी स्थायी कमिटी बैठक समापन गरिने छ ।

बैठक माग गर्ने २० जना सदस्यका तर्फबाट एक वा दुई जनाले मात्र बोल्न पाउने संभावना छ । बैठक छोटो हुने भएकाले बैठकको माग गर्ने २० जनाका तर्फबाट अध्यक्षले पेश गर्नुभएको प्रस्तावको पूरक प्रस्तावका रुपमा लिखित पेश गर्ने संभावना रहेको गजुरेलले जानकारी दिए । 

गत भदौमा नै वरिष्ठ नेता माधवकुमार नेपालले ‘एक व्यक्ति एक पद’ सहित कम्युनिष्ट पार्टी विधि, विधान र पद्धतिका आधारमा चल्नुपर्ने भनी ‘नोट अफ डिसेन्ट’ नै दर्ता गराइसकेका छन् । उनी अझै त्यसैमा अडिग छन् । 

गत मंसिरमा अध्यक्षद्वयको कार्यविभाजनबारे स्थायी कमिटीले गरेको निर्णयलाई कार्यान्वयन गर्ने गरी प्रचण्डले प्रस्तावको तयारी गरेका छन् । ‘पार्टी र सरकार सञ्चालन अध्यक्षद्वयबीचको अपासी सल्लाहमा गर्ने । पार्टी सञ्चालन गर्दा वैधानिक व्यवस्था र कमिटी प्रणालीलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने’, उक्त सहमतिको चौथो नम्बरमा उल्लेख छ ।

प्रचण्डको ध्यान भने ‘कार्यकारीअधिकारसहित  पार्टी काममा केन्द्रित हुने’ भन्नेमा केन्द्रित छ । वरिष्ठ नेता माधवकुमार नेपाल भने ‘एक व्यक्ति एक पद’ र ‘पार्टी विधि र पद्धति’ मा चल्नुपर्नेमा जोड दिइरहेका छन् । 

नेपालले भने आफूलाई पनि मान्य हुने प्रस्ताव ल्याउन प्रचण्डलाई आग्रह गरेका छन् । प्रचण्डले पनि नेपालसँगको भेटमा वामदेव गौतम र विष्णु पौडलले साथ छाडेपछि सचिवालयमा अल्पमतमा पर्ने अवस्था आएका कारण आत्मालोचनासहित एक हुने प्रस्ताव आफूले गरेको जनाउ दिँदै नेपालसँगको सहकार्य निरन्तर हुने बताएका थिए । 

प्रचण्डले वरिष्ठ नेता नेपालसहित आफूनिकट स्थायी कमिटी सदस्यहरूसँग पार्टीभित्रको समस्या समाधान नभएको, नमिली उपाय नभएकाले मात्र मिलेको बताएका छन् । ‘संसद् अधिवेशन छ, नीति–कार्यक्रम र बजेट छ, कोरोना भाइरसको समस्या छ’, गजुरेलले भने, ‘प्रधानमन्त्रीजीको पनि बाध्यता थियो, प्रचण्डको पनि मिल्नुपर्ने बाध्यता थियो । सामान्य परिस्थिति भएको भए अर्कै हुन्थ्यो ।’ 

प्रचण्डले भने अहिले नियुक्ति भइसकेका विषयमा विवाद नगर्ने र आगामी दिनमा हुने नियुक्ति मिलाएर गर्ने सहमति भएको स्रोतले जनाएको छ । 

नेकपा स्रोतका अनुसार, प्रधानमन्त्री ओलीले मन्त्रिमण्डल पनि हेरफेर गर्ने तयारी गरेका छन् । वामदेव गौतमलाई उपयुक्त समयमा राष्ट्रियसभा पठाउने सहमति भइसकेकाले युवराज खतिवडालाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्ने उनको तयारी छ । त्यस्तै, पुराना मन्त्रीहरु झिकेर सुरेन्द्र पाण्डे, जनार्दन शर्मासहित केही नयाँ मन्त्री थप्ने तयारी रहेको स्रोतको दाबी छ ।

प्रधानमन्त्रीले राजीनामा नदिने परिस्थितिमा हटाउन समय लाग्ने भएकाले अहिले त्यो समय नभएकाले आफूले छाडेको प्रचण्डले बताएका छन् । प्रधानमन्त्रीले भने ‘दक्षिणको भूमरी’मा नेताहरु परेकाले आफूलाई हटाउने भन्ने ढंगले अडान राखिरहेको बताएका थिए तर चीनियाँ राजदूतले प्रचण्ड र नेपालसँग भेट गरेको भोलिपल्ट नाटकीय रुपमा प्रधानमन्त्रीमाथिको दबाब र घेराबन्दी अन्त्य भएको थियो । 

नेकपा सचिवालयमा शनिवार नाटकीय ढंगले नेकपा अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आत्मालोचना गर्दै विवाद अन्त्यको घोषणापछि नेता नेपालले आफूलाई धोका भएको हो कि भनी आशंका व्यक्त गरेका थिए । यसबारे उनले आइतबार अपरान्ह प्रचण्डसँग करिब दुई घन्टा छलफल गरेका थिए । प्रचण्डसँगको छलफलपछि वरिष्ठ नेता माधवकुमार नेपालले आफूनिकट स्थायी कमिटी सदस्य र केन्द्रीय सदस्यहरुलाई आफू र अध्यक्ष प्रचण्डबीचको सहयात्रा कायमै रहने बताएका थिए । 

नेकपा विवाद उत्कर्षमा पुगेपछि स्थायी कमिटीमा रहेका प्रचण्ड र माधव नेपालनिकट २० जना नेताले हस्‍ताक्षर गरी बैठक माग गरेका थिए । बैठक माग गर्नेमा अष्टलक्ष्मी शाक्य, भीम रावल, भीमप आचार्य, सुरेन्द्र पाण्डे, हरिबोल गजुरेल, गणेश शाह, गोकर्ण विष्ट, चक्रपाणि खनाल, जनार्दन शर्मा, टोपबहादुर रायमाझी, देवप्रसाद गुरुङ, देवेन्द्र पौडेल, पम्फा भुसाल, बेदुराम भुसाल, मणि थापा, मातृका यादव, मुकुन्द न्यौपाने, युवराज ज्ञवाली, रघुजी पन्त र लीलामणि पोखरेल थिए । 

नेकपा सचिवालयको शनिबारको बैठकअघि अध्यक्षद्वयले करिब पौने घन्टा एक्लाएक्लै छलफल गरेपछि दुई अध्यक्ष सहमतिमा पुगेका थिए । त्यसपछि बैशाख २५ गते स्थायी कमिटी बैठक डाक्ने निर्णय भएकाे थियाे ।ओली र प्रचण्ड आकस्मिक रुपमा आत्मालाेचना गर्दै मिलेपछि यसबाट पार्टीभित्रका तेस्रो शक्तिशाली नेता नेपालसहित उनीनिकट नेताहरू सशंकित भएका थिए । अध्यक्षद्वयबीचको सहमति के थियो र नेपाल–दाहाल सहकार्यको भविष्य पनि स्थायी कमिटी बैठकमा आउने प्रस्तावले देखाउने नेकपा नेताहरुले बताउँदै आएका छन् । 

याे पनि

माधव नेपालले भने– प्रचण्डजी र मेरो सहयात्रा जारी हुन्छ

 वामदेव गौतम प्रधानमन्त्री बन्नु बिरामी मान्छे सगरमाथा चढ्नुजत्तिकै हो : पृथ्वी सुब्बा गुरुङ, मुख्यमन्त्री (अन्तर्वार्ता भिडियाेसहित)

प्रधानमन्त्रीको दोस्रो ‘ब्याक गियर’, ओलीका एक्लै निर्णय गरेर हिँड्ने दिन अब सकिएकै हो ?

सिङ्गो पार्टी सञ्चालनको जिम्मा पाएका अध्यक्ष प्रचण्डले छुट्टै बैठक राख्नु उचित होइन : महेश बस्नेत (भिडियो) 

प्रधानमन्त्री ओलीलाई माधव नेपालको चार प्रस्ताव, मिलेर जाने भए प्रधानमन्त्रीबाट ठोस प्रस्ताव आओस्

गाैतमलाई प्रधानमन्त्री बनाउने ओली-प्रस्तावकाे सन्देश- 'म अयोग्य भए प्रधानमन्त्रीका लागि सचिवालयमा कोही पनि योग्य छैन'

ओलीलाई प्रधानमन्त्रीबाट मुक्त गर्ने प्रचण्ड दाऊ, नेपाल ‘एक व्यक्ति एक पद’ कै अडानमा, ओली लचिलो तर दुवै पद नछाड्ने 

 

प्रकाशित मिति: : 2020-05-05 14:17:25

प्रतिकृया दिनुहोस्