सिङ्गो पार्टी सञ्चालनको जिम्मा पाएका अध्यक्ष प्रचण्डले छुट्टै बैठक राख्नु उचित होइन : महेश बस्नेत (भिडियो) 

 माधव ढुङ्गेल

काठमाडाैं

नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित सचिवालयका छ जना सदस्यले बिहीबार साँझ भैंसेपाटीमा अलग्गै बैठक गरेकोबारे केन्द्रीय सदस्य एवम् सांसद महेश बस्नेतले आफ्नै क्षमताप्रति विश्वास नहुनुको परिणति भएको बताएका छन्।

बिएल नेपाली सेवासँगको कुराकानीका क्रममा उनले सिंगै पार्टी सञ्चालनको जिम्मा पाएका अध्यक्षले गुटको बैठक गर्नु उचित नहुने बताए। गुटका भेला गर्नुको साटो प्रचण्डले नै आधिकारिक बैठक डाक्नुपर्ने उनले बताए।

प्रधानमन्त्री केपी शर्मा ओली निकट मानिने युवानेता माओवादी सशस्त्र द्वन्द्वका बेला ‘युथ फोर्स’ बनाएर तत्कालीन माओवादीको प्रतिवादमा उत्रने नेता हुन्। उनले भने, ‘पार्टी सञ्चालनको जिम्मेवारी चाहिँ पुष्पकमल दाहाल प्रचण्ड कमरेडलाई सुम्पिसकेको अवस्थामा उहाँले छुट्टै बैठक राख्नुपर्ने आवश्यकता नै म देख्दिनँ। यो मोडलमा जाने होइन।’ 

छुट्टै भेला गर्ने नेतृत्वलाई उनको सुझाव छ, ‘सबैले आ–आफ्नो क्षमता विकास गर्ने, आफ्नो प्रभाव र नेतृत्वलाई विस्तार गर्ने र निश्चित समयपछाडि मेरो पनि पालो आउँछ भनेर कुर्ने कम्युनिष्ट आन्दोलनलाई सही दिशामा लाने कुरामा पार्टी नेतृत्वले गम्भीरता साथ ध्यान दिनुपर्छ।’

नेताले नै लेनिनवादी संगठनात्मक सिद्धान्त पढाएकोतर्फ लक्ष्यित गर्दै उनलेसंगठन सञ्चालनको पद्धतिलाई एउटा विधिमा ढाल्नुपर्ने बताए। ‘आज नेकपाभित्र निश्चित नेता र नेताका स्वार्थ केन्द्रित अस्वस्थ गतिविधि हुन थालेका छन्’, उनले भने, ‘यो चिन्ताको विषय छ। यसलाई विधिप्रक्रियाभित्रै टुंग्याउनुपर्छ। पार्टीका आधिकारिक बैठक बसेर छलफल गरेर जानुपर्छ।’ 

पार्टीको बैठकभन्दा छुट्टै अर्का बैठकहरु बस्ने, भेलाभन्दा छुट्टै अर्का भेलाहरु बस्ने खालका क्रियाकलापले गर्दा पार्टीभित्र गुटबन्दी संस्थागत हुने बताउँदै उनले भने,  ‘पार्टी चाहिँ विभिन्न व्यक्तिको मोर्चामा परिणत हुने एउटा खतरा बन्दै छ।’

सिद्धान्त विचारभन्दा पनि सम्झौताबाट पार्टी चल्ने स्थिति बन्दै गएको बताउँदै उनले नेताको भागबण्डामा चल्ने अवस्थालाई नेताहरु एक ठाउँमा बसेर नियन्त्रण गर्नैपर्ने बताए। उनले भने, ‘दुई अध्यक्षबीच वार्ता गर्नुपर्छ। वरिष्ठ नेताहरु बसेर छलफल गर्नुपर्छ। त्योभन्दा फरक ढंगले जान हुँदैन।’ 

उनले थपे, ‘प्रधानमन्त्री केपी शर्मा ओलीले आफू राष्ट्र सञ्चालनको जिम्मेवारीमा भएको कारणले पार्टी सञ्चालनको जिम्मेवारी चाहिँ पुष्पकमल दाहाल प्रचण्ड कमरेडलाई सुम्पिसकेको अवस्थामा उहाँले छुट्टै बैठक राख्नुपर्ने आवश्यकता नै म देख्दिनँ।’

कम्युनिष्ट पार्टीले राष्ट्रियसभाको समेत सीट गन्दा दुई बहुमतप्राप्त सरकार भएको बेला पार्टीको आधिकारिक बैठक डाकेर सरकारलाई सहयोग गर्ने र देशभरि अभियन्ताको रुपमा कुदेर संगठनभित्र आफ्नो प्रभाव जमाउन प्रचण्डलाई सुझाव दिए। 

‘प्रधानमन्त्रीज्यूले म एउटै कक्षा दोहोर्‍याएर पढ्दिनँ भनिसक्नुभएको छ। त्यसलाई क्यास गरेर जाने हो भने नेकपाभित्रका सबै नेताको भविष्य उज्ज्वल भविष्य छ’, उनले भने, ‘त्योभन्दा फरक ढंगले गएर अरु नेताको भविष्यलाई पनि कमजोर बनाएर विचार, सिद्धान्त र आदर्शभन्दा अरु ढंगले कम्युनिष्ट पार्टी चल्छ भन्ने स्थापित भयो भने उहाँको पुस्तालाई पनि त्यसले राम्रो गर्दैन। भविष्यका हाम्रो पुस्तालाई पनि राम्रो गर्दैन।’ 

नेताहरूबीच केही असमझदारी भएको भए पनि पार्टीमा छलफल गरी एक हुनुपर्ने उनले बताए। ‘दुई अध्यक्ष एक हुनुपर्छ, सबै नेतालाई मिलाएर लानुपर्छ भन्ने मान्यता बोक्ने हामीजस्ता साथीहरुलाई उहाँले परिचालन गर्न सक्नुहुन्छ’, उनले भने।

‘हामी त यतिसम्म हिम्मत गर्ने मान्छे हौँ कि स्वयम् प्रधानमन्त्रीज्यूको सचिवालयभित्र कतिपय सल्लाहकारहरुबाट भएका कामहरुसमेत बेठीक भो भनेर भन्छौँ’, उनले बताए। 

शक्तिशालीलाई कमजोर नबनाई आफू बलियो हुन सकिँदैन भन्ने आत्मागत मनोग्रन्थीले काम नगर्न आग्रह गर्दै उनले भने, ‘म त्योभन्दा क्षमता बढाएर जितेर त्योभन्दा राम्रो प्रभावकारी भूमिका खेलेर नेता हुनसक्छु भन्ने मनोभाव एकदमै कमजोर भयो।’ उनले अर्कालाई कमजोर, भूमिकाबिहीन बनाएर, ढालेर मात्र जित्नसक्छु भन्ने आफ्नो क्षमताप्रतिको अविश्वासको कारणले यस्तो भएको हुनसक्ने बताए। 

अब धेरै समय बाँकी नभएका कारण कुर्न पनि उनले नेताहरुलाई आग्रह गरे। ‘ भोलि अवसर आउँछ कि आउँदैन, भोलि दुईतिहाई बहुमत आउँछ कि आउँदैन भनेर भविष्यप्रतिको अनिश्चितताका कारणले पनि होला, यी तीन–चार वटा कारणले यस्ता गतिविधि भएका छन्’, उनले भने,  ‘यसलाई मलजल गर्न सहयोगी ढंगले फरक विचार राख्ने अन्य नेतृत्वले पनि मलजल गर्ने भए। नेपालमा स्थिरता नचाहने कम्युनिष्ट पार्टीको हित नचाहने कतिपय राष्ट्रिय अन्तर्राष्ट्रिय शक्तिले पनि मलजल गर्ने भए। यो मलजल भइरहेको कुरालाई बिर्सेर रमाउँदै यस्ता कामहरु गरेको छ भने इतिहासमा यसको गम्भीर समीक्षा हुन्छ।’ 

नेताहरुलाई गुटबन्दीको यो मोडलमा नजान सुझाव दिँदै भने, ‘सबैले आ–आफ्नो क्षमता विकास गर्ने, आफ्नो प्रभाव र नेतृत्वलाई विस्तार गर्ने र निश्चित समयपछाडि मेरो पनि पालो आउँछ भनेर कुर्ने र कम्युनिष्ट आन्दोलनलाई सही दिशामा लाने कुरामा पार्टी नेतृत्वले गम्भीरता साथ ध्यान दिनुपर्छ।’

प्रकाशित मिति: : 2020-04-25 09:49:00

प्रतिकृया दिनुहोस्