मङ्गलबार, १६ डिसेम्बर २०२५

प्रधानमन्त्री ओलीलाई माधव नेपालको चार प्रस्ताव, मिलेर जाने भए प्रधानमन्त्रीबाट ठोस प्रस्ताव आओस्

 माधव ढुङ्गेल

माधव ढुङ्गेल

काठमाडौं
News Image
• • •

नेकपा वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीसँग मिलेर जाने भए कसरी सहमति गर्नसकिन्छ भनी ठोस प्रस्ताव ल्याउन माग गरेका छन् । प्रधानमन्त्रीका तर्फबाट सहमतिका लागि नेपालनिवास, काेटेश्वर पुगेका प्रतिनिधिसँग नेपालसहित उनका प्रतिनिधिले सहमतिका लागि सहमतिकाे खाका माग गरेका हुन् । 

प्रधानमन्त्री ओलीले पार्टीकाे जानकारीबेगर अध्यादेश जारी गरी  पाटीभित्रकाे विराेधका कारण पाँचाैँ  दिन राष्ट्रपतिबाट खारेज गराएपछि नेकपाभित्र सरकारप्रतिकाे असन्तुष्टि तीव्र भएकाे छ । याे असन्तुष्टि प्रधानमन्त्रीकाे  विकल्प खाेज्ने तहसम्म पुग्न लागेपछि प्रधानम्त्रीले सहमतिकाे पहल थालेका हुन् । 

अहिले देखा परेको समस्याको समाधानका लागि प्रधानमन्त्री ओलीका तर्फबाट उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल, स्थायी कमिटी  सदस्यहरु परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेल नेपाल निवास कोटेश्वर पुगेका थिए । 

नेपालका तर्फबाट वरिष्ठ नेता नेपाल, स्थायी कमिटी सदस्यहरू सुरेन्द्र पाण्डे, भीम रावल र रघुजी पन्त सहभागी थिए । नेपाल निवासमा भएको छलफलमा वरिष्ठ नेता नेपालले भने बढी सुनेर मात्र बसेका थिए । उनले खासै बोलेनन् । 

दुई पक्षको अनौपचारिक छलफलमा नेपालका तर्फबाट सहभागी स्थायी कमिटी सदस्य रघुजी पन्तका अनुसार, ओली पक्षका नेताहरू एकताबद्ध भएर अघि बढ्नुपर्ने प्रस्ताव लिएर गएका थिए । ‘हामीले एकताबद्ध भएर जान प्रधानमन्त्रीका तर्फबाट ठोस प्रस्ताव माग्यौँ, उहाँसँग केही प्रस्ताव थिएन’, बिएल नेपाली सेवासँग पन्तले भने,  ‘हामीले यसरी पार्टी र सरकार चल्न सक्दैन भन्यौँ, उहाँहरुले पनि त्‍यसमा सहमति जनाउनुभयो । मिलेर जाऊँ भन्नुभयो ।’

बैठकमा नेपाल पक्षबाट आफूहरुले चार वटा कुरा अघि सारेको पन्तले बताए– 
– सचिवालय र स्थायी कमिटी बैठक राखेर निकास खोजौँ । 
– नीति, सिद्धान्त र विचारका आधारमा पार्टी र सरकार चल्नुपर्छ । जस्तो बेथिति भयो, त्यसले राम्रो गरेन । 
– सरकार र पार्टी सञ्चालन यसरी गर्न हुँदैन भन्दा भन्दै सुनिएन । जानाजान गल्ती भए । यसलाई एकताबद्ध गरेर लैजानुको विकल्प छैन । 
– एकताबद्ध भएर जाने हो भने प्रधानमन्त्रीबाट निकास के हो भन्ने आओस् ।

बैठकमा सहभागी प्रधानमन्त्रीका प्रतिनिधिहरुले नेपाल पक्षको प्रस्ताव सुने । गल्ती कमजोरीलाई अब सच्याएर एकताबद्ध भएर अघि बढ्नुपर्ने बताएको नेता पन्तले जानकारी दिए । 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!