नेपाली जिन विदेशीलाई अनुसन्धान गर्न दिएको भन्दै रुना झासहित ६ जनालाई स्पष्टीकरण

अनलाइनखबर

काठमाडाै‌ं

सरकार र सम्बद्ध निकायलाई थाहै नदिई कोरोना संक्रमित पहिलो नेपाली युवाको भाइरस (जनेटिक) एउटा विदेशी संस्थालाई अनुसन्धान गर्न दिएको भन्दै जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक रुना झासहित ६ जनालाई कारवाही प्रक्रिया शुरु भएको छ ।

स्वास्थ्य अनुसन्धान परिषदले रुना झासहित इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाका निर्देशक बासुदेव पाण्डे, पूर्वनिर्देशक विवेकलाल कर्ण र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक अनुप बास्तोलालाई लिखित स्पष्टीकरण मागेको हो ।

त्यस्तै राष्ट्रिय प्रयोगशालाकै डा.रन्जित साह र हेमन्त चन्द्र ओझालाई पनि स्पष्टीकरण सोधिएको छ । वैशाख २९ गतेको पत्रमा सोधिएको स्पष्टीकरण एक साताभित्र पेश गर्न भनिएको स्रोतले जनाएको छ ।

स्पष्टीकरणमा भनिएको छ-तपाईंहरुको टोलीले विदेशीहरुलाई समेत संलग्न गरी माइक्रो बायालोजी रिसोर्स अनाउन्सेमन्टमा प्रकाशन गरेको अनुसन्धान लेख गैरकानुनी भएकाले तपाईहरुलाई किन कारवाही नगर्ने ?

ती छ जनाले परिषद्लाई नै थाहै नदिई सङ्क्रमित युवाको स्वाब सङ्कलन गरी अनुसन्धानका लागि विदेशीलाई दिएका थिए। परिषद्ले उनीहरुले नेपालका कोभिड–१९ सङ्क्रमित एक युवाको जिनेटिकको अनुसन्धानमा विदेशीलाई संलग्न गराइ ‘माइक्रोवायोलोजी रिसोर्स अनाउन्समेन्ट’मा प्रकाशन गरेको अनुसन्धानमूलक लेखमा परिषद्को स्वीकृत नलिई प्रकाशन गरेको भन्दै परिषद् ऐन २०४७ को दफा १२ (३) बमोजिम स्पष्टिकरण सोधिएको परिषद्का प्रशासन प्रमुख खरेलले जानकारी दिए। 

परिषद्ले लेख प्रकाशित भएपछि गत वैशाख २६ गते स्पष्टिकरण सोध्ने निर्णय गर्दै उनीहरुलाई स्पष्टिकरणका लागि  वैशाख २९ गते पत्र पठाएको थियो।  “नेपाल स्वास्थ्य अनुसन्धान परिषद् ऐन, २०४७ को दफा ११ बमोजिम कुनै पनि मानवस्वास्थ्यसँग सम्बन्धित अनुसन्धान कार्य गर्दा परिषद्को पूर्वस्वीकृति लिनुपर्नेमा स्वीकृति नलिइकन अनुसन्धान कार्य सम्पन्न गरी वैज्ञानिक लेख प्रकाशन गरेको हुँदा तपाईहरुले परिषद्बाट स्वीकृत नलिई उक्त अनुसन्धानमूलक लेख प्रकाशन गरेवापत तपाईहरुलाई किन कारवाही नगर्ने?” स्पष्टिकरणमा भनिएको, “कारवाही गर्न नपर्ने कुनै मनासिब कारण भए सोको स्पष्ट लिखित जवाफ प्रमाणसहित यो पत्र प्राप्त भएको मितिले सात दिनभित्र परिषद्मा पेश गर्न नेपाल स्वास्थ्य अनुसन्धान परिषद् ऐन, २०४७ को दफा १२ (३) बमोजिम परिषद्को मिति २०७७ साल वैशाख २६ गतेको निर्णय भएको हुँदा निर्देशानुसार जानकारीका लागि अनुरोध छ ।” 

प्रकाशित मिति: : 2020-05-14 19:30:41

प्रतिकृया दिनुहोस्