मधेसी समुदायमाथि विवादास्पद टिप्पणी गरेका एन्फाका अध्यक्षले मागे माफी

बिएल संवाददाता

काठमाडाै‌ं

मधेसी समुदायमाथि विवादास्पद टिप्पणी गरेका अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्मा छिरिङ शेर्पाले माफी मागेका छन्।

एकभिडियो अन्तर्वार्तामा शेर्पाले तराई मधेसका जनतामा राष्ट्रियताको भावना कम भएकाले उनीहरुलाई राष्ट्रियता सिकाउन  जरुरी रहेको बताएका थिए। 

एन्फा अध्यक्ष शेर्पाले बुधबार विज्ञप्ति जारी गर्दै राष्ट्रियतामाथि प्रश्न गर्ने आफ्नो मनसाय नभएको बताएका छन्। अन्तर्वार्ताका क्रममा व्यक्त शब्दावलीबाट नेपाली दाजुभाइ दिदी विहिनी एवं त्यस क्षेत्रका नेपालीमा कुनै चोट वा ठेस पुग्न गएको भए त्यसप्रति म क्षमायाचना गर्दछु’ शेर्पाले भनेका छन्।

शेर्पाले हालै एक अन्तर्वार्तामा तराईबासीमा राष्ट्रियताप्रति भावना जगाउन नेपाली सेनासँग मिलेर महोत्तरी, धनुषा, सिरहा र सप्तरीमा ग्रासरुट फुटबल कार्यक्रम सञ्चालन गरेको बताएका थिए।

उनले यसबारे माफी माग्दै तराईमा नेपाली सीमामा रक्षा गर्ने तराईबासी जनताप्रति आफू कृतज्ञ रहेको बताएका छन्। ‘राष्ट्रियता र राष्ट्रिय पहिचानको सन्दर्भमा अन्य क्षेत्रको भन्दा तराइको गौरवशाली इतिहासबाट नेपाली फुटबल खेलमा केही कमी भएकामा नेपाली फुटबल खेलको अभिभावकको रुपमा मलाई पछुतो छ’ उनले भनेका छन्।

 

के छ विधानमा कारबाही?

एएफसीबाट स्वीकृत एन्फा विधानको धारा ३ मा तटस्थ एन्फामा आवद्धहरु सबै किसिमका विषयमा भेदभावरहित रहने स्पष्ट उल्लेख छ। यस विधानअनुसार रंगभेदी काम गर्नेलाई निलम्बन, निस्कासन वा अनुशासनात्मक कारबाही हुने समेत उल्लेख छ।

जहाँ पहिलो बुँदामा भनिएको छ – ‘एन्फा सबै प्रकारका राजनीतिक तथा धार्मिक विषयवस्तुमा तटस्थ रहनेछ।’ 

दोस्रो बुँदामा भनिएको छ– ‘कुनै व्यक्ति, देश, समूह वा जात, रंगभेद, जाति, राष्ट्रियता वा सामाजिक उत्पत्ति, लिङ्ग, अशक्तता, भाषा, धर्म, राजनीतिक वा अन्य कुनै विचार, धन, जन्म वा अन्य कुनै प्रकारको मर्यादा, यौनिक अभिमुखीकरण अथवा अन्य कुनै कारणहरुको आधारमा कुनै पनि प्रकारको भेदभावभालाई निषेध गरिएको छ र यस्तो कार्य दण्डनीय छ। यस्ता भेदभावका कार्य गरेमा निलम्बन, निस्कासन वा अनुशासनात्मक कारबाही गरिने छ।’  

उनको यो अभिव्यक्तिलाई लिएर एन्फाभित्र असन्तुष्टि बढेको थियो।

 

प्रकाशित मिति: : 2020-06-03 19:08:42

प्रतिकृया दिनुहोस्