संसदमै ‘हेटस्पिच’ दिएको भन्दै नेकपाकी सांसदलाई कारबाही गर्न माग

बिएल संवाददाता

काठमाडाै‌ं

सामाजवादी पार्टीकी सांसद सरिता गिरीले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदले आफ्नो विषयमा संसदमै घृणा फैलाउने अभिव्यक्ति दिएको भन्दै कारबाहीको माग गरेकी छन्।

नेकपाकी सांसद गंगा चौधरी सत्गौवाले गिरीको विषयमा संसदको जेठ १९ गतेको बैठकमा ‘भारतीय चेलीहरूको दादागिरी संसदमा पनि भएको’ भन्दै दिएको अभिव्यक्तिलाई लिएर कारबाहीको माग गरेकी हुन्।

शुक्रबारको संसद बैठकमा विशेष समय लिएर बोल्दै सांसद गिरीले त्यो अभिव्यक्ति आफूमाथि नभई संसदीय मर्यादामाथि कै आक्रमण भएको बताइन्।  ‘नेपालको कानुन अनुसार यो  हेट स्पिच (घृणा फैलाउने अभिव्यक्ति) कानुनी करबाहीका लागि पर्याप्त हुन्छ। र, म गृह मन्त्रालयको ध्यानाकर्षण गराउँछु कि यसलाई रेकर्डमा लिएर प्रक्रिया अगाडि बढाइयोस्,’उनले भनेकी छन्।

आफूले नेपाल र भारतबीच कालापानी क्षेत्रलाई लिएर बोलेको कुराबारे मिडियामा प्रायोजित समाचार आएको र त्यसकै आधारमा सांसद सत्गौवाले धारणा राखेको गिरीको भनाइ थियो। उनले भनिन्, ‘सांसद भएर मिडियामा प्रायोजित भएर आएका समाचारमा आधारित भएर भनाइ राख्ने ? मैले सीमा समस्याबारे भारत र चीनसँग वार्ता गरेर समस्या समाधान गर्नुपर्ने बताएको थिए तर मिडियाले त्यसलाई तोडमोड गरेर प्रस्तुत गर्‍यो।’

सांसद गिरीले संसद बैठकमा कालापानी क्षेत्रलाई नक्सामा राखेर समस्या समाधान नहुने र उक्त नक्सा प्रकाशित गर्नु पहिले भारत र चीनसँग छलफल नगरेकोमा सरकारको आलोचना गरेकी थिइन्। सांसद गिरीले नेकपा सांसद कतै चीनबाट परिचालित त होइनन् भनेर आरोप लगाएकी छन्। 

चौधरीका पति दाङको राप्ती गाउँपालिकामा चुनाव लड्दा भारु बाँडेको र गाउँलेले समात्दा यो भारु त चीनको तर्फबाट बाँडेको भनेको दाबी गर्दै उनले भनिन्, ‘कुनै ठूलो शक्तिको आड विना कसरी आरोप लगाइयो ? कतै उत्तरी छिमेकी चीनको इशारामा त एक भारतीय चेलीमाथि आरोप लगाइएको होइन ?’

भारतीय चेली (आफू)लाई कसैले चाँदीको चम्चामा राखेर सभासद पद नदिएको उनले बताइन्। ‘नेपालको कानुनअनुसार आएको हुँ’ भन्दै उनले इतिहासको जानकारी छैन भने आफूसँग लिन र कार्यकर्तालाई प्रशिक्षत गर्न नेकपा नेताहरुलाई आग्रह गरिन्।

राजपा सांसद अमृतादेवी अग्रहरीले पनि नेकपा सांसद चौधरीले संसदमा माफी माग्नुपर्ने माग गरिन्। भारतीय चेली नेपाली कानुनको पालना गरेर र कानुनी प्रक्रिया पूरा गरेर सांसद बनेको भन्दै उनले मधेसी नागरिकलाई भारतीय नदेख्न आग्रह गरिन्।

राष्ट्रवादका ठूला कुरा नगर्न पनि उनले नेकपाका संसदहरूलाई आग्रह गरेकी थिइन्। उनले मधेसीले नै नेपाल जोगाएको धारणा राखेकी थिइन्। उनले कालापानी, लिपुलेक र लिम्पियाधुरालाई नेपालले आफ्नो नक्सामा राख्दैमा भूमि फिर्ता नआउने पनि बताइन्।
 

प्रकाशित मिति: : 2020-06-05 13:06:09

प्रतिकृया दिनुहोस्