बार्सिलोनाले स्पेनिस ला लिगामा सानदार जित निकालेको छ। बार्सिलोनाले रेगिगेसन जोनमा रहेको मालोर्कामाथि ४–० को जित निकालेको हो।
मालोर्कामा शनिबार राति भएको खेलमा बार्सिलोनाको जितमा कप्तान लियोनेल मेसी, आर्टुरो भिडाल, मार्टिन ब्रेथवेट र जोर्डी अल्वाले गोल गरे। एकपक्षीय बनेको खेलमा बार्सिलोनाले पहिलो र दोस्रो हाफमा समान दुई गोल गरेको थियो।
खेलको दोस्रो मिनेटमा नै जोर्डी अल्वाको पासमा भिडालले गोल गर्दै बार्सिलोनालाई शुरुवाती अग्रता दिलाएका थिए। ३७औं मिनेटमा ब्रेथवेटले गोल गरेपछि बार्सिलोनाले पहिलो हाफमा २–० को अग्रता बनाउन सफल भयो।
७९औं मिनेटमा मेसीकाे पासमा अल्वाले गोल गर्दै बार्सिलोनालाई सहज जिततर्फ अघि बढाए। इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा मेसीले लुइस सुआरेजको पासमा गोल गर्दै बार्सिलोनालाई ४–० को सानदार जित दिलाए।
जितसँगै बार्सिलोनाले शीर्षस्थानमा रियल मड्रिडविरुद्ध ५ अंकको अग्रता बनाएको छ। यद्दपि रियलले एक खेल कम खेलेको छ। बार्सिलोनाको २८ खेलबाट ६१ अंक पुगेको छ। पराजित मालोर्का २५ अंक जोडेर रेलिगेसन जोनको १८औं स्थानमा छ।