हालान्डको गोलमा डर्टमुन्डको संघर्षपुर्ण जित

बोरुसिया डर्टमुन्डले रेलिगेसन जोन नजिक रहेको फोर्टुना डुसेलडर्फमासथि संघर्षपुर्ण जित निकालेको छ।

डुसेलडर्फमाथिको १–० को संघर्षपुर्ण जितसँगै डर्टमुन्डको जर्मन बुन्डेसलिगाको उपाधि यात्रा जीवितै बनेको छ। 

इस्प्रिट एरिना डुसेलडर्फमा भएको खेलमा घरेलु टोलीलाई दवावमा राखेपनि डर्टमुन्डले गोल गर्न सकेन। १७औं मिनेटमा अचरफ हाकिमीको पासमा जाडोन सान्चोले गोल गर्ने सुन्दर अवसर खेर फाल्दा डर्टमुन्ड अग्रता लिनबाट चुक्यो। 

दोस्रो हाफमा डर्टमुन्डले युवा एर्लिङ ब्राउट हालान्डलाई मैदानमा पठाएपनि सुरुवाती प्रयासमा गोल गर्न असफल बन्यो।

बराबरीतर्फ धकेलिएको खेलको इन्ज्युरी समयको थप गरिएको पाँचौ मिनेटमा हालान्डले गोल गर्दै डर्टमुन्डलाई १–० को जितसँगै महत्वपुर्ण ३ अंक दिलाए।

उनले म्यानुयल एकान्जीको पासमा गोल गरेका थिए। जितसँगै डर्टमुन्डको ३१ खेलबाट ६६ अंक पुगेको छ। जुन शीर्षस्थानको एक खेल कम खेलेको बायर्न म्युनिखभन्दा ४ अंकले कम हो। बुन्डेसलिगामा ३ चरणको खेल बाँकी रहेको छ। 

डर्टमुन्डसँग पराजित डुसेलडर्फ २८ अंक जोडेर १६औं स्थानमा यथावत छ। जुन रेलिगेसन प्लेअफ खेल्नुपर्ने स्थान हो।

प्रकाशित मिति: : 2020-06-14 08:07:23

प्रतिकृया दिनुहोस्