‘…अनि सुरु भयो इनफ इज इनफ आन्दोलन’

अनलाइनखबर

काठमाडाैं

कोरोना महामारी नियण्त्रण गर्न सरकारले प्रभावकारी भुमिका नखेलेको निष्कर्ष निकालेर ‘इनफ इज इनफ’ भन्दै सडकमा देखिएका ‘ई’ चार दिनमा दुई पटक पक्राउ परे । प्रहरीले अहिले उनलाई छाडिसकेको छ ।

उनले कक्षा १० पास नगर्दै ‘यो व्यवस्था परिवर्तन गर्छु’ भन्ने महत्वाकांक्षा बोकेर स्कुल छाडेका थिए । ‘आलो उमेरमा नै संसार नै पल्टाउन सक्छु’ जस्तो लागेर स्कुल छाडेको बताउने उनी विगतलाई फर्केर हेर्दा अहिले हाँस उठ्ने बताउँछन् ।

उनी सन् २०१२ सम्ममा राप्रप्रा नेपाल पार्टीमा थिए । पार्टीमा काम गर्दै जाँदा ‘मेरो बाटो यो होइन’ भन्ने महसुस गरेर पार्टी छाडे । तर, विभिन्न सामाजिक अभियानमा भने सक्रिय भइरहे।

अकुपाई बालुवाटार, हनुमानढोका निजीकरणको अभियान, म स्वदेशी भन्ने सामाजिक काम र अभियानहरुमा पनि उनलाई देख्न सकिन्थ्यो । विवेकशील नेपाली दल गठनको क्रममा सहयोग गर्नेमध्येका उनी पनि एक थिए । तर, सक्रिय राजनीतिमा लाग्न अनिच्छुक भएका कारण उनी दलीय हिसाबले सक्रिय भएनन् ।

सन् २०१५ मा मधेस आन्दोलन चर्किएको बेलामा सम्मान, भाइचारा र सम्भावको सन्देश लिएर हुलाकी राजमार्ग र पूर्व पश्चिम पैदल गरेको उनले त्यहीबेला राष्ट्रिय एकता अहिंसाका लागि पहल गर्न सीके राउतलगायत विभिन्न नेताहरुलाई भेटेका थिए ।

प्रकाशित मिति: : 2020-06-15 19:41:47

प्रतिकृया दिनुहोस्