सरसफाइ र खानेपानीसम्बन्धी परियोजनामा सम्झौता

रासस

काठमाडौँ 

पशुपतिनाथको मुख्य मन्दिर परिसरमा सरसफाइ र खानेपानीसम्बन्धी परियोजना सञ्चालन गर्न सम्झौता भएको छ।

 सम्झौतामा नेपाल सरकारका तर्फबाट सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको विकास सहायता समन्वय शाखा प्रमुख रेशम कँडेल, काठमाडौँ महानगरका तर्फबाट पूर्वाधार विकास विभागका प्रमुख राम थापा र भारतीय दूतावासका तर्फबाट डेभलपमेन्ट को–अपरेशन काउन्सिलर डा प्रफुल्लचन्द्र शर्माले हस्ताक्षर गरे। 

भारत सरकारको सहयोगमा सञ्चालन हुने साना विकास परियोजनाअन्तर्गत भारतीय दूतावासको रु तीन करोड ७२ लाख ३१ हजार १६२ र काठमाडौँ महानगरको रु एक करोड ४५ लाख ७९ हजार १४४  लागत सहभागिता रहने परियोजनाको लागत रु पाँच करोड १८ लाख १० हजार ३०६ रहेको छ। सम्झौताबमोजिम परियोजनाको सञ्चालन पशुपति क्षेत्र विकास कोष, परियोजना कार्यान्वयन काठमाडौँ महानगरपालिका र अनुगमन सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गर्नेछन्।

शहरी समृद्धिका लागि पूर्वाधार निर्माण, वातावरणीय सुधार, सामाजिक तथा आर्थिक पुनरुत्थानका काममा महानगरले आफ्नै स्रोतमा पनि धेरै काम गरिरहेको छ। परियोजना सञ्चालनका विषयमा प्रतिक्रिया दिँदै कामपाका सहसचिव राजेश्वर ज्ञवालीले धेरै जनताले लाभ पाउने परियोजनामा साझेदारिताको प्रस्ताव लिएर आउने साझेदारलाई कामपाले प्रोत्साहन गर्ने बताए। 
     
सम्झौतापछि परियोजनाका बारेमा मन्त्रालयको विकास सहायता समन्वय शाखा प्रमुखले कँडेलले भने, 'पशुपतिनाथ दर्शन गर्न जाने श्रद्धालुलाई मन्दिर परिसरको वातावरणीय अवस्थाले नकारात्मक समस्या नपरोस् र सुविधामा समस्या नहोस् भनेर सुधारात्मक परियोजना सञ्चालन गर्न थालिएको हो।'    

साना–साना परियोजनाबाट नेपाल र भारतका जनता–जनतास्तरमा सुमधुर सम्बन्ध रहोस् भन्ने उद्देश्यले सहकार्य गरिएको काउन्सिलर शर्माले बताए। परियोजनामा खानेपानी वितरण प्रणाली सुधार, ढल निर्माण, सरसफाइ तथा फोहरमैला व्यवस्थापनको काम हुनेछ। परियोजना आगामी १५ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

प्रकाशित मिति: : 2020-06-16 09:09:16

प्रतिकृया दिनुहोस्