जर्मनी तथा जर्मन क्लब आरबी लाइप्जिगका फरवार्ड टिमो वेर्नरलाई इंग्लिस क्लब चेल्सीले अनुबन्ध गरेको छ। चेल्सीले २४ वर्षीय फरवार्ड वेर्नरलाई पाँच वर्षको लागि सम्झौता गरेको हाे। उनी जुलाईबाट टोलीमा सामेल हुने छन्।
वेर्नर सम्झौताका लागि राजी भएको र मेडिकल बाँकी रहेको चेल्सीले जनाएको छ।जुलाईमा चेल्सी आउने भएसँगै वेर्नरले लाइप्जिगबाट च्याम्पियन्स लिगका खेल गुमाउने छन्।
लाइप्जिग च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ। क्वाटरफाइनलका खेलहरु पोर्चुगलको लिस्वनका १२ अगस्टदेखि २३ अगस्टसम्म हुँदैछ।
वेर्नरले लाइप्जिगबाट यो सिजन ४३ खेलमा ३२ गोल र १३ गोलको लागि सहायता दिएका छन्। वेर्नरले जर्मन क्लबका लागि २०१६ देखि हालसम्म १५७ खेलमा ९३ गोल र ४० गोलका लागि पास उपलब्ध गराएका छन्। उनी यो सिजनको जर्मन बुन्डेस लिगाको सर्वाधिक गोलकर्ताको सुचीमा दोस्रो स्थानमा छन्। वेर्नरले २६ गोल गरेका छन्। उनीभन्दा अघि बायर्न म्युनिखका रोवर्ट लेवान्डोस्की ३१ छन्।
यस्तै वेर्नरले जर्मनीका लागि २९ खेलमा ११ गोल गरेका छन्। उनी २०१७ देखि जर्मनीको राष्ट्रिय टोलीमा नियमित रहँदै आएका छन्।