स्पेनिस ला लिगा अन्तर्गत भएकाे खेलमा रियल मड्रिड अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ। रियल सोसीडाडको मैदानमा आइतबार भएकाे खेलमा मड्रिडले २-१ को जित दर्ता गरेको हो।
पहिलाे हाफ गाेल रहित बराबरीमा सकिएकाे खेलमा तीनै गाेल दाेस्राे हाफमा भएकाे हाे। दोस्रो हाफको सुरुवातमा नै मड्रिडले पेनाल्टीको अवसर प्राप्त गर्याे। डिएगो लोरेन्टेले डि बक्सभित्र भिनिसियसलाई लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए। उक्त पेनाल्टीलाई कप्तान सर्जियो रामोसले गोलमा परिणत गर्दै सुरुवाती अग्रता दिलाए।
सोसीडाडले खेलको ६८ औं मिनेटमा गोल फर्काएपनि रेफ्रीले भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) को सहायता लिँदै गोललाई मान्यता दिएनन। वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका अदनान जानुजाजले २० यार्ड टाढाबाट गरेकाे गोललाई अफ साइडकाे मान्यता दिइयाे।
त्यसको दुई मिनेटपछि नै रियलले अग्रता दोब्बर पार्याे। करिम बेन्जेमाले डि बक्सभित्र छातीले बल रोक्दै दोस्रो टचमा गाेल गरे।
८३ औं मिनेटमा घरेलु टोलीले गोल फर्काउँदै खेलमा फर्कने संकेत देखायो। मिकेल मेरिनोले रोबर्टो लोपेजको क्रसमा डिब्स भित्रबाट गरेको प्रहार गाेल परिणत भयाे। तर सोसीडाडले खेलको अन्त्यतिर रियलमाथि दबाब कायम गरेपनि गोल फर्काउन नसक्दा हारको सामना गर्नुपर्याे।
जितसँगै मड्रिड अंक तालिकाको शीर्षस्थानमा पुगेको छ। मड्रिड र साविक विजेता बार्सिलोनाको समान ३० खेलमा ६५ अंक भएपनि हेड टु हेडमा रियल अगाडी रहेको छ। सोसीडाड भने ३० खेलमा ४७ अंकसहित छैटौँ स्थानमा नै यथावत छ।