न्युक्यासल युनाइटेडले सेफिल्ड युनाइटेडमाथि सानदार जित हात पारेको छ। न्युक्यासलले १० खेलाडीमा समेटिएको सेफिल्डमाथि ३–० को जित निकालेको हो।
न्युक्यासलको जितमा एलान सेन्ट म्याक्सीमिन, माट रिट्ची र जोइलिन्टनले गोल गरे। सबै तीन गोल दोस्रो हाफमा सम्भव भएको थियो।
घरेलु टोलीलाई लगातार दवावमा राखेपनि सेफिल्ड ५०औं मिनेटमा १० खेलाडीमा समेटिएको थियो।
जाइलिन्टनमाथि फउल गरेपछि सेफिल्डका जोन इगान दोहोरो पहेलोकार्डसहित मैदानबाट बाहिरिएका थिए। त्यसको ५ मिनेटपछि न्युक्यासलले खेलमा अग्रता बनाएको थियो। एलान सेन्ट म्याक्सीमिनले माट रिट्चीको पासमा गोल गरेका थिए।
६९औं मिनेटमा न्युक्यासलले अग्रता दोब्बर बनायो। इसाक हेडिनको पासमा माट रिट्चीले गोल गरे। ७८औं मिनेटमा जोइलिन्टनले गोल गर्दै न्युक्यासलको जित पक्का गरे।
हारपछि सेफिल्डले पाँचौ स्थानमा उक्लने मौका गुमायो। सेफिल्ड ४४ अंक जोडेर सातौ स्थानमा रहेको छ। यता न्युक्यासलको ३० खेलबाट ३८ अंक पुगेको छ।