‘सरकार आफैं दरिद्र छ, उसैलाई खान पुग्दैन हाम्रो छाक कहाँ टर्छ र!’ 

देवकी विष्ट

काठमाडौं

काठमाडौंको पाशुपत क्षेत्रमा महिलाहरूको एउटा समूह बसिरहेको देखेँ। त्यहाँ उनीहरू आफ्ना बालबच्चासँगै बसेका थिए।

नजिकै गएर सोधेँ, ‘यस्तो महामारीको बेला तपाईँहरू यसरी किन बस्नु भएको?’ एक महिलाले उल्टै प्रश्न गरिन्, ‘केही दिने हो?’ त्यसपछि मैले आफ्नो परिचय दिएँ।

‘भित्र भोकमरी छ दिदी, बाहिर कोरोनाको डर। अब के गर्नु यहाँ कसैले केही दिन्छ कि, भनेर आएका हौ,’ उनले अगाडि भनिन्।

५ वर्षअघि श्रीमान गुमाएकी उनका दुई छोरा छन्। अहिले उनी दैनिक ज्याला मजदुरी गरेर दुई छोरा पालिरहेकी छिन्। प्रष्ट नेपालीसमेत बोल्न नसक्ने उनी आफ्नो घर महोत्तरी जिल्लामा रहेको बताउँछिन्। यद्यपी गाउँमा घरजग्गा केही नभएकाले उनीहरु स-परिवार १० वर्षअघि काठमाडौं छिरेका हुन्।

‘भित्र बसौं भोकको महामारी, बाहिर जाऊ रोगको महामारी। अरूले दिएको थाप्दा थाप्दै खानालाई पुग्दैन। सरकारसँग माग्न पहुँच पुग्दैन’, उनले भनिन्।

यस्तै पहिले होटलमा काम गर्दै आएका श्याम अहिले काम बन्द भएपछि सडकमा पुगेका छन्।

रातको ८ बजे छोरीसँग पुरानो बसपार्कमा खाना लिन आएका उनले विगत ३ महिनादेखि यसरीनै परिवारको छाक टारिरहेका छन्। उनकी छोरी अहिले १० वर्षकी भईन्। छोरी पाँच वर्षकी हुँदा श्रीमतीले छोडेर पोईल गईन्। त्यसपछि छोरीका लागि बाबु र आमा दुबै भएर उनले हुर्काए, बढाए। उनले छोरी सानो छँदा जहाँ आफू गयो त्यही लिएर जान्थे। अहिले छोरी अलिक ठूली भएकाले कोठामै छोडेर काममा जाने गरेका थिए। कोरोनाको महामारीले गर्दा लकडाउन भयो। यो समयमा उनले पाउनसम्मका दुःख पाए। कोठामा बस्दा घरबेटीले भाँडा मागेर हैरान पार्ने भएकाले उनी राति अवेर मात्रै छोरीलाई लिएर कोठा जाने गरेका छन्।

चीनको वुहानबाट सन् २०१९ को अन्त्यबाट फैलिएको कोरोना भाइरसका कारण आजसम्म विश्वभरमा करिब ५ लाख मानिसले ज्यान गुमाएका छन्। करिब एक करोड हारहारीमा संक्रमित भइसकेका छन्। नेपालमा पनि मंगलबारसम्म करीव १० हजार मानिस संक्रमण भइसकेका छन् भने २३ जनाको ज्यान गइसकेको छ।

हाल आएर काठमाडौंमा लकडाउन केही खुकुलो भए पनि सहज रूपमा यी माथिका पात्रहरूले काम पाएका छैनन्। सरकारले राहत वितरण बन्द गरिसक्यो। केही सहृदयीहरूले ठाउँ ठाउँमा वितरण गरेको खानाबाट दैनिक छाक टारिरहेका छन्।

यसबाट एकातिर कोरोना महामारीको खतरा झन बढेको छ भने गरिव तथा विपन्न परिवारको अवस्था झनै दयनीय अवस्थामा पुगेको छ।

प्रकाशित मिति: : 2020-06-23 09:01:00

प्रतिकृया दिनुहोस्