शीर्षस्थानकाे युभेन्ट्सकाे विजयी यात्रा कायमै

शीर्षस्थानको युभेन्ट्स इटालियन सिरी ए अन्तर्गत मंगलबार रातिको खेलमा जेनोआलाई पराजित गरेको छ। 

घरेलु मैदानमा भएकाे खेलमा युभेन्ट्सले जेनाेआलाई ३-१  गाेल अन्तरले  पराजित गरेकाे हाे। खेलमा सबै गोल दोस्रो हाफमा सम्भव भएको थियो।

 युभेन्ट्सले पाउलो डिबालाको गोलमा अग्रता लियो। ५० औं मिनेटमा जुआन क्वाडराडोको पासलाई पेनाल्टी क्षेत्रभित्र लाग्दै डिबालाले राम्रो फिनीस गरेका थिए।

Image

अग्रता लिएको ६ मिनेटपछि नै युभेन्ट्सले अग्रता दोब्बर पार्यो। क्रिस्टियानो रोनाल्डोले लिग सिजनको २४ औं गोल गर्दै खेलमा अग्रता दाेब्बर पारे।

खेलको ७३ औं मिनेटमा डग्लस कोस्टाले अर्को उत्कृष्ट गोल गरे। उनले पेनाल्टी क्षेत्रको ठिक बाहिरबाट गरेको प्रहार टप कर्नरमा गोल भएको थियो।

 त्यसको दुई मिनेटमा नै जेनोआले गोल गर्दै खेलमा फर्कने संकेत देखायो। आन्द्रीए पिनामोन्टीले एन्टोनियो बार्रेकाको पासमा गोल गरेका थिए।

Image

तर बाँकी समय गाेल नहुँदा युभेन्ट्सले ३– १ काे जित हात पार्‍याे। 

जितसँगै युभेन्ट्सले लिगको शीर्षस्थानमा ४ अंकको अग्रता कायम राख्न सफल भयो। युभेन्टसको २९ खेलमा ७२ अंक छ। दोस्रो स्थानको लाजियोको २९ खेलमा ६८ अंक रहेको छ।

प्रकाशित मिति: : 2020-07-01 06:15:44

प्रतिकृया दिनुहोस्