ओलीनिकट नेताहरुको प्रचण्डलाई सुझाव– दुई अध्यक्ष छलफल गर्नुस्, पार्टी एकता जोगिने गरी अघि बढ्नुस्

प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट हटाउन क्रियाशील कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ‘पार्टी एकता जोगाउने गरी अघिबढ्न’ आग्रह गरेका छन् । उनीहरुले प्रधानमन्त्री र अध्यक्षबाट ओलीलाई हटाउने प्रयास गरेमा एकता टिक्न नसक्ने पनि बताएका छन् ।

प्रधानमन्त्री ओलीले बिहीबार बिहान प्रचण्डनिकटका सहित करिब २० जना नेतालाई बोलाएर छलफल गरेका थिए । त्यसलगत्तै प्रचण्डले झम्सिखेलमा वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, गृहमन्त्री रामबहादुर थापासहित सचिवालयका छ जना सदस्यसहितको भेला राखेका थिए । त्यहाँ ओलीले पार्टी फुटाउन खोजेको बताउँदै उनलाई अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट हटाउने धारणा राखेका थिए । 

खुमलटारमा प्रचण्डसँगको छलफलमा उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेल, नेकपा महासचिव विष्णु पौडेल, शंकर पोखरेल लगायत थिए । ‘तपाईंहरुले पार्टी एकता गर्ने भन्नुभो, त्यही अनुसार हामीले काम गर्‍यौँ । अब त्यो एकता जोगाएर अघि बढ्नेबारे सोच्नुस्’, उक्त बैठकमा उपनेता नेम्वाङले भनेका थिए । उपप्रधानमन्त्री पोखरेलले अध्यक्षले गुटको भेला बोलाउनु एकताविरोधी गतिविधि भएको बताउँदै सबैको अध्यक्ष भएर अघि बढ्न प्रचण्डलाई सुझाव दिएका थिए ।

अध्यक्ष प्रचण्डले छलफलका लागि बोलाएपछि ओली पक्षका ९–१० जना नेताहरु खुमलटार पुगेका थिए । उनीहरुलाई प्रचण्डले खुलस्त कुरा राख्न आग्रह गर्दै भने, ‘तपाईंहरुले खुलस्त कुरा राख्नुस्, म त्यसैका आधारमा मलाई सहमतिको प्रयास गर्न सजिलो हुनेछ ।’ 

‘हामीले दुई जना अध्यक्ष छलफल गर्नुस् र निकास निकाल्नुस् भन्यौँ’, बैठकबारे नेता नेम्वाङले बिएल नेपाली सेवासँग भने, ‘अहिलेको गतिविधिले नेकपाको भविष्यलाई कमजोर बनाउँछ । विवाद गरेर अघि बढेमा सिंगै नेकपा समाप्त हुन्छ । एकताको भावनाअनुसार अघि बढ्नुस् ।’ उनले गुटबन्दीले कोही नेतालाई ठूलो नबनाउने पनि बताएका थिए ।

त्यसपछि स्थायी कमिटी बैठकका लागि नेताहरु बालुवाटार पुगेका छन् तर अपरान्ह साढे २ बजेसम्म बैठक बस्न सकेको छैन । प्रधानमन्त्री ओेलीले मन्त्रिपरिषद् बैठक राखेपछि ११ बजेको बैठक ढिला भएको थियो । त्यसपछि अध्यक्ष प्रचण्डले दुई वरिष्ठ नेता, उपाध्यक्ष गौतम र महासचिव विष्णु पौडेलसँग बालुवाटारमै बेग्लै छलफल थालेका छन् । स्थायी कमिटी सदस्यहरु भने बैठक कुरेर बसिरहेका छन् । 
 

प्रकाशित मिति: : 2020-07-02 14:59:07

प्रतिकृया दिनुहोस्