कोरोना नियन्त्रणमा स्थानीय तहको भूमिका महत्वपूर्ण : पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कोरोना नियन्त्रणका लागि स्थानीय तहले खेलेको भूमिका महत्वपूर्ण रहेको बताएका छन्।

तनहुँ जिल्लाका विभिन्न स्थानीय तहमा रहेको आइसोलेशन कक्षका लागि शुक्रबार स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै उनले संविधानले नै स्थानीय तहलाई अधिकार सम्पन्न बनाएकाले कोरोना नियन्त्रणका लागि स्थानीय तहले प्रभावकारी भूमिका खेलेको बताए। 

“स्थानीय तह जनताको नजिकको सरकार हो, संकटमा स्थानीय तहले खेलेको भूमिकालाई नजर अन्दाज गर्न सकिँदैन”, उनले भने। उनले  आत्मबल बलियो भए कोरोनालाई सहजै जित्न सकिने भएकाले कोरोना संक्रमित आत्तिन नहुने सुझाव दिए। 

फरक प्रसङ्गमा उनले भ्रष्टाचार, बेरोजगारी र पक्षपातविरुद्धमा  कांग्रेसले आन्दोलन गर्ने तयारी गरेको बताए।  प्रेसले सकारात्मक भूमिका खेलेकै कारण सरकार गलत काम गर्नबाट पछाडि हटेको उल्लेख गर्दै उनले भने, “प्रतिपक्षी दललेभन्दा पनि सरकारलाई प्रेसले बढी खबरदारी गरिरहेको छ, अहिलेको अवस्थामा प्रेसको भूमिका पनि अतुलनीय छ।”

प्रकाशित मिति: : 2020-07-03 17:36:00

प्रतिकृया दिनुहोस्