दोस्रो स्थानको होडमा रहेको मिलान बोलोग्नासँग स्तब्ध

इटालियन सिरी ए फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा बोलोग्नाले इन्टर मिलानलाई २–१ ले पराजित गरेको छ।

घरेलु मैदानमा भएको खेलमा १०/१० खेलाडीमा सीमित भएको बोलोग्नाले दोस्रो स्थानको होडमा रहेको मिलानलाई स्तब्ध बनाएको हाे। 

मिलानका लागि २२ औँ मिनेटमा रामेलु लुकाकुले गोल गरी सुरुवाति अग्रता दिलाएका थिए। तर दोस्रो हाफमा उसले अग्रता जोगाउन सकेन।

५७ औँ मिनेटमा सोरिएनो सिधै रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि बोलोग्ना १० खेलाडीमा सीमित भयो। उसका लागि ७४ औँ मिनेटमा जुवाराले बराबरी गोल गरे।

७७ औँ मिनेटमा बास्तोनी दोहोरो पहेँलो कार्ड पाएर मैदानबाट बाहिरिएपछि मिलान पनि १० खेलाडीमा खुम्चियो। बोलोग्नाका लागि ८० औँ मिनेटमा बारोले गोल गरी जित दिलाए।

पराजित भएको मिलान ३० खेलबाट ६४ अंकसहित तेस्रो स्थानमा छ। मिलान दोस्रो स्थानको लाजिओ भन्दा चार अंकले पछि रहेको छ। 

विजयी भएको बोलोग्ना भने ३० खेलबाट ४१ अंकसहित नवौँ स्थानमा पुगेको छ।
 

प्रकाशित मिति: : 2020-07-06 06:35:11

प्रतिकृया दिनुहोस्