ठोस सहमति बिनै सकियाे ओली–दाहालको बैठक, स्थायी कमिटि बैठक नरोक्ने सहमति

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच मंगलबार भएको भेटवार्ता सकिएको छ। 

बालुवाटारमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी ओली र अर्का अध्यक्ष  प्रचण्डबीच झण्डै ३ घण्टा वार्ता भएको हो।

यद्यपि दुई अध्यक्षबीच कुनै ठोस सहमति भइनसकेको नेताहरुले बताएका छन्।

प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट ओलीलाई राजीनामा दिनुपर्ने प्रचण्ड पक्षको माग र दुवै पद नछाड्ने ओलीको अडानका बीच नेकपामा आन्तरिक कलह चुलिएको छ। विवाद चर्किएपछि स्थायी कमिटी बैठकसमेत प्रभावित भएको छ।

नेकपा फुटको संघारमा पुगेपछि स्थायी समितिको बैठक २४ असारसम्मका लागि स्थगित गरेर नेताहरु छलफलमा जुटेका हुन्। 

पार्टीमा बढेको गतिरोध अन्त्यका लागि आइतबार र सोमबार पनि प्रधानमन्त्री ओली र अध्यक्ष  प्रचण्डबीच एक्लाएक्लै छलफल भएको थियो।

तर कुनै निश्कर्ष ननिस्किएकोले आज पुनः छलफल गरिएको थियो।  

आज भएको छलफलमा दुबै अध्यक्षबीच रोकिएको स्थायी कमिटि बैठक सुचारु गर्ने सहमति भएको छ। तर आपसी छलफल पनि कायम राख्ने कुरा भएको छ।

नेकपाको स्थायी कमिटि बैठक बुधबार बस्ने छ। 
 

प्रकाशित मिति: : 2020-07-07 15:25:59

प्रतिकृया दिनुहोस्