कर्णालीमा थपिए १४ कोरोना संक्रमित, थप २८ जना डिस्चार्ज

फाइल तस्वीर

कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा १४  कोरोना भाइरस संक्रमित थपिएका छन्।

सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र दैलेख अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा मंगलबार थप १४ जनामा संक्रमण पुष्टि भएको हो।

थपिएका संक्रमितमध्ये सुर्खेका १२ जना र सल्यानका दुईजना रहेका छन्। यससँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या १५३० पुगेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका तीनजना, भेरीगंगा नगरपालिकाका तीनजना, बराहताल गाउँपालिकाका एक र गुर्भाकोट नगरपालिकाका पाँचजनामा कोरोना पुष्टि भएको छ। त्यस्तै, बनगाड कुपिण्डे नगरपालिकाका दुईजना रहेका छन्।

कर्णालीमा मंगलबार थप २८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै प्रदेशमा डिस्चार्ज हुनेको संख्या १२७५ पुगेको छ।

कर्णालीमा छजना कोरोना संक्रमितको मृत्यु भएको छ। २४९ जना आइसोलेसनमा रहेका छन्।
 

प्रकाशित मिति: : 2020-07-07 18:02:44

प्रतिकृया दिनुहोस्