न्यूक्यासलविरुद्ध सिटीकाे फराकिलाे जित

इंग्लिस प्रिमियर फुटबल लिग अन्तर्गत बुधबार राति भएको खेलमा म्यानचेस्टर सिटीले फराकिलो जित निकालेको छ।

सिटीले न्यूक्यासल युनाइटेडलाई ५-० गोल अन्तरले पराजित गरेको हो।

घरेलु मैदानमा सिटीलाई जित दिलाउन गाब्रियल जिसस, रियाद महरेज, रहिम स्ट्रर्लिङ र डेभिड सिल्भाले एक एक गोल गरे।

न्यूक्यासलका फेड्रिको फर्नान्डेजले एक आत्मघाती गोल गरे।

खेलको १० औं मिनेटमा जिससले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए। २१ औं मिनेटमा सिटीले अग्रता दाेब्बर बनायाे। उसका लागि महरेजले गोल गरे।

 ५८ औं मिनेटमा न्यूक्यासलका फर्नान्डेजले आत्मघाती गोल गर्दा सिटी ३-० ले अघि रह्यो।

६६ औं मिनेटमा सिल्भाले गोल गर्दै सिटीलाई ४-० को अग्रता दिलाए।

त्यसपछि खेलको इन्जुरी समयमा स्ट्रर्लिङले गोल गर्दै सिटीलाई ५-० को फराकिलो जित दिलाए।

जितसँगै सिटीले ३४ खेलबाट ६९ अंक जोडेको छ। सिटी लिगको दोस्रो स्थानमा रहेको छ।

सिटी लिग लिडर तथा च्याम्पियन लिभरपुल भन्दा २० अंकले पछि रहेको छ। लिभरपुलको ८९ अंक रहेको छ।

४३ अंक जोडेको न्यूक्यासल १३ औं स्थानमा रहेको छ।

प्रकाशित मिति: : 2020-07-09 05:30:50

प्रतिकृया दिनुहोस्