बार्सिलोनाको उपाधि आशा जीवितै, दोस्रो डिभिजनमा घटुवा भयाे स्पानियोल

 बार्सिलोनाले शीर्षस्थानको रियल म्याड्रिडसँगको अंक दुरी १ मा छोट्याउदै उपाधि यात्रालाई जीवितै राखेकाे छ।

घरेलु मैदान क्याप नाउमा बुधबार राति भएको खेलमा बार्सिलोनाले एस्पान्योलमाथि १–० को झिनो जित निकालेकाे हो। 

बार्सिलोनाको जितमा लुइस सुआरेजले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बनेको थियो। खेलमा दुवै टोलीले १० खेलाडीमा समेटिएर खेलको अन्त्य गरेको थियो। 

खेलको पहिलो हाफमा गोलरहित बराबरीमा सकिएको थियो। 

दोस्रो हाफको शुरुमै दुवै टोली १० खेलाडीमा समेटिएको थियो। अन्सु फाती मैदान छिरेको चौथो मिनेटमा नै रातो कार्ड खाँदै मैदानबाट बाहिरिए। फर्नान्डो क्यालेरोलाई फउल गरेपछि शुरुवातमा पहेलो कार्ड दिएपनि भिएआरको सहायतामा रेफ्रीले कार्ड परिवर्तन गर्दै रातो कार्ड देखाएको थिए।

त्यसको तीन मिनेट पछि नै एस्पान्योल पनि १० खेलाडीमा समेटियो। पानेल लोजानोले जेरार्ड पिकेलाई फउल गरेपछि रेफ्रीले पहेलो कार्ड देखाउदै मैदान बाहिर पठाएपछि दुवै टोली १० खेलाडीमा समेटिन पुगेको थियो।  

५६औं मिनेटमा सुआरेजले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए।  कप्तान लियोनेल मेसीकाे प्रहारलाई एस्पान्योलका गोलरक्षक डिएगो लोपेजले बचाएपनि राम्ररी नियन्त्रणमा लिन नसकेको बललाई सुआरेजले जाली चुमाए।

जितसँगै बार्सिलोनाको ३५ खेलबाट ७६ अंक पुगेको छ। एक खेल कम खेलेको रियल म्याड्रिको ७७ अंक छ। 

यता रेलिगेसनमा परेको एस्पान्योलको २४ अंक छ। बार्सिलोनासँगको हारसँगै एस्पान्योल २६ वर्षपछि दोस्रो डिभिजनमा घटुवा भएको छ। 

ला लिगामा ३ खेल बाँकी रहँदा तीनै खेलमा जित हात पारेपनि एस्पान्योलले रेलिगेसनबाट बच्ने छैन।

प्रकाशित मिति: : 2020-07-09 06:43:07

प्रतिकृया दिनुहोस्