आलाभेसविरुद्ध रियलकाे सहज जित

स्पेनिस ला लिगाको शीर्षस्थानमा रहेको रियल मड्रिडले सहज जित दर्ता गरेको छ।

शुक्रबार घरेलु मैदान अल्फ्रेडो डी स्टेफानोमा आलाभेसविरुद्ध २-० को  जित हात पारेकाे हाे। रियलको जितमा फ्रान्सेली फरवार्ड करीम बेन्जेमाले १ गोल र १ असिस्ट गरे।

खेलको ११ औं मिनेटमा घरेलु टोली रियलले करीम बेन्जेमाको पेनाल्टी गोलमा अग्रता लियो। आलाभेसका डिफेन्डर छिमो नाभारोले पेनाल्टी क्षेत्रभित्र फर्लान्ड मेन्डीलाई लडाएपछि रेफ्रीले भिडियो एसिस्टेन्ट रेफ्रीको सहायता लिँदै पेनाल्टी दिए। 

दोस्रो हाफको सुरुवाती समयमा नै रियलले अग्रता दोब्बर पार्यो। रोड्रीगोको थ्रु पासमा मार्को एसेन्सियोले गोल गरे। रेफ्रीले सुरुवातमा उक्त गोललाई अफसाइडका कारण अयोग्य भनेपनि भीएआरको सहायताले गाेलकाे मान्यता पाएको थियो।

जितसँगै रियलले अंक तालिकाको शीर्षस्थानमा पुन: ४ अंकको अग्रता कायम गरेको छ। रियलको ३५ खेलमा ८० अंक रहेको छ। दोस्रो स्थानको बार्सिलोनाले ३५ खेलमा ७६ अंक जोडेकाे छ।

रेलिगेसन खतरामा रहेको आलाभेस भने ३५ खेलमा ३५ अंकसहित १७ औं स्थानमा छ। 

प्रकाशित मिति: : 2020-07-11 05:40:28

प्रतिकृया दिनुहोस्