पाकिस्तानी विमान अमेरिकामा रोक

अमेरिकाले पाकिस्तान इन्टरनेसनल एअरलाइन्स (पीआईए)का विमानहरूलाई अमेरिका आउन रोक लगाएको छ। अमेरिकी यातायात मन्त्रालयले पाकिस्तानी पाइलटहरूको प्रमाणपत्रहरूलाई लिएर फेडरल एवियसन एडमिनिस्ट्रेसन (एफएए) ले चिन्ता गरेसँगै अमेरिकामा पाकिस्तानी विमान रोक लगाइएको हो।

समाचार एजेन्सी रोयटर्सका अनुसार पाकिस्तानमा गत महिनामा भएको अनुसन्धानमा एक तिहाइ पाइलटको प्रमाणपत्र योग्यताभन्दा फरक वा गलत पाइएको थियो। युरोपियन एवियसन सेफ्टी एजेन्सीले पनि पाकिस्तान इन्टरनेसनल एअरलाइन्स सञ्चालनमा ६ महिनाका लागि रोक लगाएको छ। यद्यपि यस सन्दर्भमा पाकिस्तान इन्टरनेसनल एअरलाइन्सका तर्फबाट कुनै टिप्पणी वा जवाफ आएको छैन।

पाकिस्तानी टेलिभिजन च्यानल जियो न्युजले बताएअनुसार पाकिस्तान इन्टरनेसनल एअरलाइन्सले अमेरिकाले लगाएको रोकको पुष्टि गर्दै यी एअरलाइन्समा भएका समस्या हटाउने प्रयास गर्ने बताएको छ।

गत जुनमा भियतनामको विमान प्राधिकरणले स्थानीय एअरलाइन्सका लागि काम गरिरहेका सबै पाकिस्तानी पाइलट हटाइएको बतायो। जब कि युरोपियन संघका उड्डयन प्राधिकरणले पनि ३२ सदस्य देशलाई नक्कली प्रमाणपत्रको मामलामा त्यस्ता पाइलटको सेवा नलिनु भन्ने सल्लाह दिएको छ। यो कदम अहिले विश्वव्यापी नियामकहरूले केही पाइलटले ‘शंकास्पद’ प्रमाणपत्र प्रयोग गरिरहेका छन् भन्ने चिन्ता व्यक्त गरेका बेला उठाइएको छ।

हालै वैश्विक एअरलाइन्स संस्था आईएटीएले पाकिस्तानी अन्तर्राष्ट्रिय एअरलाइन्सका पाइलटहरूको लाइसेन्समा अनियमितता पाइएको बताएको छ, जुन सुरक्षा नियन्त्रणमा गम्भीर हेलचेक्य्राइँ हो। यसपछि गत हप्ता पाकिस्तानले पनि त्यस्ता नक्कली प्रमाणपत्र भएका दुई सय ६२ पाइटललाई हटाइरहेको बताएको छ।

पाकिस्तानका उड्डयनमन्त्री गुलाम सरवर खानले संसद्मा बोल्दै भने, ‘ठूलो संख्यामा रहेका व्यावसायिक पाइलटहरूको कि नक्कली लाइसेन्स छ कि उनीहरू परीक्षामा अनुत्तीर्ण भएका छन्।’ आठ सय ६० पाइलटमध्ये दुई सय ६० जनाभन्दा बढी पास भए या त उनीहरूको नक्कली लाइसेन्स रहेको अनसन्धानबाट थाहा भएको उनले बताए।

प्रकाशित मिति: : 2020-07-12 11:34:10

प्रतिकृया दिनुहोस्