कोरियाबाट फेरि किन रोकियो ‘इन्छन्-काठमाडौं’ उद्धार उडान?

कोरियाबाट मार्च १६ तारिख अन्तिम नियमित उडान भएको थियो। त्यसपछि नेपाल जान रोकिएका हजारौं नेपाली नागरिकमध्ये २० जुन र १० जुलाईमा कोरियन एयरको चार्टर उडानमार्फत ४७६ जना मात्र नेपाली कोरियाबाट नेपाल जान सफल भए।

अझ ठूलो संख्यामा नेपालीहरू स्वदेश जाने जहाज कुरेर बसेका छन्, कतिको भिसा सकिएर समस्यामा छन्, कतिलाई कम्पनीले निकालेपछि बस्ने ठाउँको समस्या छ, कतिका घरमा घटेका दुखद् घटनामा सामेल हुन नपाउँदाको पीडा, लामो समय काम छोडेर बसेकोले बेखर्ची बनेका आदि समस्याले तिनलाई पिरोलेको छ।

१५ जुलाईमा पनि कोरियन एयरको उडान हुने चर्चा चलेको थियो। तर एकाएक रद्द भयो, कारण बारे बुझ्न खोज्दा नेपालबाट आउने करिब १८२ यात्रुको लागि खोजिएको सामूहिक क्वारेन्टाइनस्थल कोरियाले अस्वीकृत गरेसँगै नेपालबाट आउने यात्रु नभएपछि उडान नहुने जानकारी दिइयो।

स्मरणीय के छ भने नेपालबाट कोरियाको लागि उड्ने यात्रुबाट चर्को टिकट शुल्क प्रति यात्रु $१२५० असुलेको एजेन्सीले इन्छनबाट काठमाडौं उड्ने यात्रुलाई प्राथमिकतामा राखेका छैनन् अन्यथा कोरियाबाट जाने यात्रुको कुनै कमि हुन्न।

यो अवस्थामा कोरियाका नेपालीहरू घर फर्कनका लागि नेपालबाट उड्ने यात्रु संख्या कहिले पुरा हुन्छ भनेर कुर्नुपर्ने  देखिन्छ। यो विषयमा नेपाली दूतावासले अलग्गै पहल गरेर कोरियाका नेपालीलाई छिटो स्वदेश उडाउनुपर्‍यो भन्ने धेरैको अनुरोध छ।

नेपाल सरकारले कोरियन एयरलाई मात्र उडान भर्न मिल्ने एकाधिकार खालको स्थिति सिर्जना गरेकाले पनि यो समस्या बल्झिएको छ। 

यसै बीच कोरियन एयरको भन्दा सहुलियत दरको भाडा तय गरेर जिन एयरले उडान अनुमति मागे पनि बिना कुनै चित्त बुझ्दो कारण नेपालको पर्यटन मन्त्रालयले अनुमति रोकेर राखेको छ।

मन्त्रालयका सचिव केदारबहादुर अधिकारीका अनुसार नेपाल एयरलाइन्सलाई पनि कोरिया उडान अनुमति दिइएको अवस्थामा मात्रै कोरियाको जिन एयरसहित अन्य विमान कम्पनीको हकमा नीतिगत व्यवस्था गरी अनुमति प्रदान गर्न सकिन्छ।

हवाई उडान सम्बन्धि चासो राख्ने सबैलाई थाहा छ कोरियाले यूरोपियन स्टाण्डर्डको सुरक्षा मापदण्डलाई उडान सुरक्षाको आधार मानेको छ, ती आधारहरु पुरा गरेको र अन्य कोरियाकै हवाई उडान सम्बन्धि  सर्तहरु पनि पुरा गर्ने जहाज कम्पनीलाई मात्र उडान अनुमति दिन सकिने भनि पटक पटक जानकारी गराएको कोरियाको भूमि, पूर्वाधार र यातायात मन्त्रालयले जनाएको छ।

नेपाल एयरलाइन्स सहित नेपालका सबै हवाई कम्पनि यूरोपियन युनियनको कालोसूचीमा परेको धेरै भैसकेको छ र हालसम्म पनि सरकारले सो सूचीबाट हटाउन ठोस पहल गरेको छैन।

तसर्थ नियमित होस् या चार्टर जुनै उडान भए पनि यी मापदण्ड पुरा नगरि नेपाल एयरलाइन्स कोरिया आउन सक्ने देखिदैन। कोरियाले अनुमति दिएन भन्नुभन्दा पहिला नेपाल सरकारलेनै उड्डयन सुरक्षा विश्वस्तरको बनाउन धेरै काम गर्नुपर्ने देखिन्छ।

आफ्नो स्तर अभिवृद्धिको लागि आवश्यक काम नगरी आपतमा परेका नेपालीलाई उद्दार गर्न नेपाली  दूतावासबाटै सिफारिस भएको जहाज कम्पनीलाई उडान अनुमति नदिनुको पछाडि मन्त्रालयका उच्च अधिकारीको मिलेमोतो र बदनियत झल्किन्छ।

नेपाल जाने जहाज र मितिको टुंगो नहुँदा अफ्ठेरोमा परेका नेपालीले केहिले आक्रोशित हुँदै त केहिले दुःख-बिलौना गर्दै आफ्नो समस्या यसरि पोख्ने गरेका छन्। 

सुवनमा बस्ने योएल थापा नेपाल जान नपाउँदाको पीडा कहिल्ल्यै बिर्सन नसक्ने बताउँछन्। आफ्नी ममतामयी आमालाई निक्कै गम्भीर स्वास्थ्य समस्या भएकोले आफू आमालाई भेट्न साह्रै बेचैन भएको र उहाँको स्वास्थ्यप्रति चिन्तित भएकोले धेरै पीडामा छन्। सरकारलाई यो अवरोध खुलाई सकेसम्म छिटो नेपाल जाने वातावरण मिलाइदिन अनुरोध गरेका छन्।

त्यस्तै मक्पोको एक कृषि फार्ममा काम गर्ने इटहरीकी अमृता अधिकारीको ब्यथा पनि उस्तै छ। ‘भिसा सकिएको पनि ३ महिना भइसक्यो कम्पनीले छिट्टै गइदिए हुन्थ्यो जस्तो ब्यवहार गरिरहेको छ। बिना काममा अर्काको देशमा बस्नुपर्दा साह्रै तनाव भएको छ। हामी पनि देशका नागरिक हौ, सरकारले तोकेको क्वारेन्टाइनको नियम पूर्ण रूपमा मान्न तयार छौ। हामीजस्ता बिचल्लीमा परेका हजारौ नागरिकलाई नेपाल सरकारले छिटो भन्दा छिटो उद्वार गरोस् भन्न चाहन्छु,’ उनको गुनासो छ।

त्यस्तै अनसानमा कार्यरत ललितपुरका बिनित ढुंगेलको पीडा अझै दयनीय छ। उनको भिसा सकिएको ४ महिना भइसकेको रहेछ। कम्पनीले कोठामा बस्न नदिएर कहिले सेल्टर त कहिले साथीभाइकोमा बस्न थालेको २ महिना भइसकेछ। ‘अलि अलि भएको पैसा पनि बाहिर बस्दा बस्दा सकियो। अब पनि सरकारले नेपाल जाने अनुमति नदिए मेरो त बिचल्ली नै हुन्छ’, उनले भने।

यस बारेमा कोरियास्थित नेपाली  दूतावासमा सम्पर्क गर्दा आफूहरुले यहाँबाट नेपालीको समस्याका बारेमा नेपाल सरकारलाई जानकारी गराइरहेको तर उडान सम्बन्धमा  भने आफूहरूले केही गर्न नमिल्ने बताउँछ।

सियोलस्थित नेपाली दूतावासका प्रथम सचिव उद्वव न्यौपानेलेले भने,‘यही १५ तारिखको लागि कोरियन एअर नेपाल जाने निश्चित भएको थियो तर  कोरियाले एक्कासी क्वारेन्टाइन रद्व  गर्‍यो र नेपालीहरु अहिलेलाई कोरिया  प्रवेश गर्ने अवस्था रहेन त्यसकारण एकतर्फी उडान भर्न कोरियन एअर तयार नभएकै कारण रद्व भएको हो। हामीले कोरियाबाट भिसा सकिएका नेपाली फर्काउन पहल गरिरहेका छौ। अब अर्को उडान छिट्टै हुन्छ भन्ने कुरामा हामी विश्वस्त छौ।’

प्रकाशित मिति: : 2020-07-13 12:49:00

प्रतिकृया दिनुहोस्