म्यानचेस्टर साउथह्याम्पटनसँग रोकियो

एजेन्सी

काठमाडौं

इंग्लिस प्रिमियर लिगमा शीर्ष चारको दौडमा रहेको म्यानचेस्टर युनाइटेड गएराति जितबाट वञ्चित बनेको छ। युनाइटेड साउथह्याम्पटनसँग २–२ गोलको बराबरीमा रोकिदै अंक बाड्न बाध्य बनेको हो।

घरेलु मैदान ओल्डट्राफोर्डमा सोमबार राति भएको खेलमा युनाइटेड स्टुआर्ट आम्सट्रोङको गोलबाट खेलको १२औं मिनेटमा पछि परेको थियो । तर, युनाइटेडले चार मिनेटको अन्तरमा दुई गोल गरेपछि युनाइटेडले खेलामा २–१ को अग्रता बनाएको थियो ।

२०औं मिनेटमा मार्कुस रासफोर्डले एन्थोनी मार्सियलको पासमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याएका थिए । २३औं मिनेटमा ब्रुनो फर्नान्डेजको पासमा एन्थोनी मार्सियालले गोल गर्दै युनाइटेडलाई खेलमा २–१ को अग्रता दिलाएका थिए । त्यसअघि १६औं मिनेटमा रासफोर्डले गोल गरेपनि उनी अफसाइड ठहरिएका थिए ।

प्रतिस्पर्धात्मक खेलमा त्यसपछि दुवै टोलीले गतिलो आक्रमण बुन्न सकेको थिएन । युनाइटेडसँग हारतर्फ उन्मुख रहेका साउथह्याम्पटनका लागि ओवाफेमीले इन्ज्युरी समयको थप गरिएको छैटौ मिनेटमा गोल गर्दै अंक खोस्न सफल हुदा युनाइटेडलाई जितबाट वञ्चित गराए । जान बेडनरेकको कर्नरमा ओवाफेमीले हेडमार्फत सहजै गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । जितबाट वञ्चित भएपनि युनाइटेड पछिल्ला १८ खेलमा अपराजित रहन सफल भएको छ ।

यो बराबरीले म्यानचेस्टर युनाइटेडले चेल्सी र लेस्टर सिटीलाई पछि पार्दै शीर्ष तीनमा उक्लने अवसर गुमाउदा अर्काे सिजनको लागि च्याम्पियन्स लिग खेल्ने सम्भावनामा समेत धक्का लागेको छ । बराबरीपछि लेस्टरसँग समान ५९ अंक भएपनि युनाइटेड गोल अन्तरमा पछि पर्दै पाँचौ स्थानमा यथावत छ। साउथह्याम्पटन ४५ अंक जोडेर १२औं स्थानमा यथावत छ ।

प्रकाशित मिति: : 2020-07-14 07:40:49

प्रतिकृया दिनुहोस्