७ दिन बालुवाको पहाड चढेर पूर्व मालिकको घर फर्किएको एउटा ऊँटको कहानी (भिडियो)

एजेन्सी

मंगोलिया

जनावर र मालिकबीच कस्तो प्रेम हुन्छ। यसको पछिल्लो उदाहरण चीनको मंगोलिया क्षेत्रमा देखिएको छ। यो कथा एउटा बुढो भइसकेको ऊँटको हो।

जसलाई उसको मालिकले ९ महिला अगाडि बेचेका थिए। तर, ऊँटलाई आफ्नो नयाँ मालिकसँग बस्न मन लागेन। यसपछि ऊ सडक र बालुवाको पहाडको एक सय किलोमिटर लामो यात्रा ७ दिनमा पुरा गरेर आफ्नो पुरानो मालिक टिमरको घर पुग्यो। जतिबेला ऊँट पुरानो मालिकको घर पुगेको थियो, त्यति बेला ऊ निकै थकित र शरीरभरि घाउको निशान देखिन्थ्यो। 

ऊँट बालुवाको पहाडबाट हिँडिरहेको बेला एक जना व्यक्तिले उसलाई देखेको थियो। त्यो व्यक्ति पहिलेदेखि नै ऊँटको विषयमा जानकार थियो। उसैले पुरानो मालिकको घरमा ऊँटलाई पुर्‍याइदिएको थियो। 

स्थानीय पत्रिका बयाङनुरका अनुसार ऊँट फर्किएको देखेर पुरानो मालिकले आँखाबाट आशु थाम्न सकेनन्। ऊँटलाई लामो समय पालेका किसान दम्पत्तिले भने, ‘ऊँट धेरै बुढो भइसकेको थियो। त्यसै कारण हामीले गत अक्टुबरमा बेचेका थियौं। तर, यो हामीलाई निकै माया गथ्र्यो। त्यसैले फर्किएर आयो।’

रिपोर्टका अनुसार जंगल, सडक र बालुवाको पहाडबाट फर्किने क्रममा ऊँटको ढाडमा धेरै घाउ भएको छ। ऊँटको आफूप्रतिको माया देखेपछि पुरानो मालिकले अर्को ऊँट दिएर पुनः बुढो ऊँटलाई घरमा राखेका छन्। यो घटनाका कारण किसान दम्पत्तिले ऊँटको गर्दनमा मंगोलियाको परम्परागत स्कार्फ ‘हाडा’ ले सजाएका छन्। मंगोलियामा परिवारको सदस्यको घाँटीमा स्कार्फ बाध्ने चलन छ। यसले परिवारको सदस्य भनेर सम्बोधन गर्ने गर्छ।

प्रकाशित मिति: : 2020-07-19 17:10:52

प्रतिकृया दिनुहोस्